बाढी प्रभावितको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ : सांसद काउँचा

राजनीति

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउँचाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका बाढी प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक सुरक्षालाई प्राथमिकता दिन सरकारसँग माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद काउँचाले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले घर, सडक र सम्पत्तिमा क्षति पुर्याउनुका साथै प्रभावित नागरिकको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको बताइन् ।

उनले बाढी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकसँगै स्थानीय तहमा कार्यरत कर्मचारीको मानसिक अवस्था समेत गम्भीर बन्दै गएको बताइन् ।

काउँचाले अपर त्रिशूली–१ आयोजनामा कार्यरत रसुवाका इन्जिनियर सुरेश सापकोटा बेपत्ता भएको तथा शिक्षिका ईश्वरी भट्ट मानसिक रूपमा विक्षिप्त भएको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरिन् ।

बाढीका कारण धनजनको क्षति, घरबार गुमाउनु, आफन्त गुमाउनु, विस्थापन र भविष्यप्रतिको अनिश्चितताले धेरै पीडित तीव्र मानसिक तनाव, चिन्ता, एन्जाइटी, डिप्रेसनलगायत मनोसामाजिक समस्याबाट गुज्रिरहेको उनले बताइन् ।

काउँचाले विपद्पछिको पुनस्र्थापना भौतिक संरचना निर्माणमा मात्र सीमित गर्न नहुने बताइन् । ‘विपद्पछिको पुनस्र्थापना भनेको भत्किएका घर र सडक बनाउनु मात्र होइन, भत्किएको मन र आशालाई पनि पुनर्निर्माण गर्नु हो,’ उनले भनिन् ।

उनले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गरिन् ।

विशेषगरी बालबालिका, महिला, ज्येष्ठ नागरिक तथा आफन्त गुमाएका परिवारलाई लक्षित गरी तत्काल मनोसामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै, पीडित नागरिकमा रहेको भविष्यप्रतिको अनिश्चितता हटाउन पुनस्र्थापना तथा जीविकोपार्जनको स्पष्ट योजना ल्याउन उनले सरकारको ध्यानाकर्षण गराइन् । स्थानीय आवश्यकता र संस्कृतिअनुसार योग, ध्यान तथा सामुदायिक सहयोगका कार्यक्रम सञ्चालन गर्नुपर्ने पनि उनले बताइन् ।

‘बाढीले मानिसको घर बगाएको छ, तर सरकारले उनीहरूको आशा बग्न दिनुहुँदैन,’ काउँचाले भनिन् ।

भौतिक राहतसँगै मानसिक स्वास्थ्यलाई पनि समान प्राथमिकता दिँदै सरकारले प्रभावित नागरिकलाई सुरक्षित भविष्य र बाँच्ने आत्मविश्वास दिलाउनुपर्ने उनले बताइन् ।