काठमाडौं , प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साहलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्।
साह सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले साहको नाम नयाँ मन्त्रीका रूपमा सिफारिस गरेका हुन्।
यादवले बिहीबार प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ।
यसअघि बुधबार संसदीय समितिको बैठकमा यादवले ग्यास उद्योगीहरूप्रति विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनले सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने धारणा समेत राखेकी थिइन्।
ग्यास उद्योगीहरूलाई लक्षित गर्दै उनले दिएको अभिव्यक्तिको आलोचना भइरहेका बेला यादवले मन्त्री पदबाट राजीनामा दिएकी हुन्।


