११ उपसमूह बढेपछि नेप्सेमा १८ अंकको सुधार

Headlines बैंक/वित्त

काठमाडौँ — सेयर बजारमा खरिद दबाब बढेसँगै नेप्से परिसूचक १८ अंकले उक्लिएको छ। सोमबार कारोबारमा आएका अधिकांश उपसमूह बढेपछि नेप्से २ हजार ५६०.८४ विन्दुमा पुगेको हो।

पछिल्ला तीन कारोबार दिनदेखि बजार लगातार बढिरहेको छ। सोमबार १३ मध्ये ११ उपसमूहको सूचक बढेपछि समग्र बजारमा सुधार देखिएको हो। निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै २.०५ प्रतिशतले बढ्यो। बैंकिङ तथा उत्पादन तथा प्रशोधन समूहको सूचक पनि १ प्रतिशतभन्दा बढीले उक्लिएको छ।

सोमबार नेप्से १८.०७ अंकले बढेको हो। सेन्सेटिभ इन्डेक्स ४.४६ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५२ अंकले बढेका छन्।

बजार बढेसँगै कारोबार रकम पनि बढेको छ। ३५२ कम्पनीका ९२ लाख ९८ हजार ९४ कित्ता सेयर ५० हजार ८४४ पटक किनबेच भएका छन्। कुल कारोबार रकम ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो।

कारोबार भएका कम्पनीमध्ये १९५ वटाको सेयर मूल्य बढेको छ। ७९ कम्पनीको मूल्य घटेको छ भने चार कम्पनीको मूल्य स्थिर रहेको छ। यसले सोमबार बजारमा बिक्रीभन्दा खरिदतर्फको दबाब बलियो रहेको देखाएको छ।

पियोर इनर्जीको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ७६१ रुपैयाँ ३० पैसा पुगेको छ। गणपति लघुवित्तको सेयर मूल्य ७.३५ प्रतिशतले बढेको छ। श्रीनगर एग्रिटेक, कालिका लघुवित्त र सागर डिस्टिलरीको सेयर मूल्य पनि ६ प्रतिशतभन्दा बढीले बढेका छन्।

यता इमर्जिङ नेपाल, सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयर मूल्यमा १५ प्रतिशतसम्मको गिरावट आएको छ। विशेषगरी पछिल्लो समय प्राप्ति सम्झौताका कारण सिन्धु विकास बैंक र जानकी फाइनान्सका सेयरमा बिक्री चाप देखिएको छ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अगाडि छ। कम्पनीको २५ करोड २१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। गरिमा विकास बैंकको १७ करोड ८८ लाख, सोलु हाइड्रोपावरको १६ करोड २७ लाख, र सानिमा मिडिल तमोर हाइड्रोपावरको १० करोड १९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

तीन कारोबार दिनको निरन्तर वृद्धिले बजारमा केही सकारात्मक संकेत देखिए पनि नेप्से अझै २ हजार ६ सय विन्दुभन्दा तल छ। त्यसैले पछिल्लो सुधारले दिगो गति लिन्छ वा छोटो अवधिको उछालमै सीमित हुन्छ भन्ने हेर्न आगामी कारोबार महत्वपूर्ण हुने देखिन्छ।