उद्धार तथा खोजीमा भारतीय टोलीको साथ, विद्युत् आपूर्ति पुनःस्थापना प्राथमिकतामा

Headlines समाचार

काठमाडौं । नेपालको रसुवा जिल्लामा आएको भीषण बाढी तथा पहिरोपछि चिलिमे सुरुङमा उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन भारतीय सुरुङ उद्धार टोलीले नेपाली सेनासँगको समन्वयमा काम गरिरहेको छ।

टोलीले सुरुङभित्र जमेको पानी निकास गर्नुका साथै सुरुङको गहिराइमा पुगेर उत्खनन तथा जोखिमयुक्त संरचनालाई सुरक्षित बनाउने काम अघि बढाएको छ।

यो संयुक्त प्रयासले विपद्का बेला भारत र नेपालबीच भइरहेको सीमापार उद्धार, प्राविधिक सहयोग तथा विपद् व्यवस्थापनसम्बन्धी सहकार्यलाई थप प्रभावकारी बनाएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै भारतले प्राविधिक विज्ञता तथा मानवीय सहयोगमार्फत नेपाललाई निरन्तर सहयोग गरिरहेको बताएका छन्।

विशेषज्ञ टोलीले सुरुङभित्र जमेको पानी सफलतापूर्वक निकास गरेपछि कामदारहरूलाई थप गहिराइमा पुगेर उत्खनन गर्न तथा जोखिममा रहेका सुरुङका भागलाई सुरक्षित बनाउन सहज भएको छ।

साथै, सुरुङको मुखसम्म ठूला मेसिन तथा उच्च क्षमताका उपकरण पु¥याउन अस्थायी पहुँचमार्ग निर्माणको काम पनि भइरहेको छ।

प्राविधिक उद्धार कार्यसँगै भारतीय टोलीसँग आएका चिकित्सकहरूले स्थानीय बासिन्दाका लागि स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन्। शिविरमा स्थानीयको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक स्वास्थ्य सामग्री तथा सेवा उपलब्ध गराइएको थियो।

भारतीय राजदूत श्रीवास्तवले एक्समा लेखेका छन्, ‘भारतीय सुरुङ उद्धार टोलीले नेपाली सेनासँग मिलेर हिजो चिलिमे सुरुङमा थप गहिराइमा पुगेर काम गरेको छ र पानी निकास गरेको छ। थप भारी उपकरण सुरुङसम्म पु¥याउन अस्थायी मार्ग पनि निर्माण भइरहेको छ। टोलीसँग आएका चिकित्सकहरूले स्थानीय समुदायका लागि स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।’

यसैबीच, बाढीपछि स्थानीय बासिन्दाले ठूलो जनधनको क्षति व्यहोरेका छन्। बाढीको भेलले घर तथा संरचनाहरू बगाउँदा महत्वपूर्ण पूर्वाधारमा ठूलो क्षति पुगेको छ भने अझै ठूलो संख्यामा स्थानीय बासिन्दा बेपत्ता छन्।

स्थानीय बासिन्दा राम घलेले विपद्पछिको अवस्था र तत्काल भइरहेका राहत तथा पुनःस्थापनाका प्रयासबारे जानकारी दिँदै विद्युत् आपूर्ति पुनःस्थापनालाई प्राथमिकतामा राखिएको बताए।

उनले भने, ‘विद्यालय, अस्पताल र गाउँमा प्राथमिकताका आधारमा विद्युत् पुनःस्थापना गरिँदैछ। सबै कुरा बगाएको छ। ठूलो संख्यामा मानिसहरू अझै बेपत्ता छन्। चारवटा विद्यालय भवन पूर्ण रूपमा बगेका छन्। अबको दुई दिनभित्र विद्युत् आपूर्ति पुनःस्थापना गर्ने लक्ष्य छ। आज हामी तारहरू जडान गरिरहेका छौँ।’

विनाशकारी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा जनजीवन सामान्य बनाउन प्रयासहरू तीव्र पारिएका छन्। आकस्मिक बाढीले शैक्षिक संस्थासहितका महत्वपूर्ण संरचना बगाउँदा चारवटा विद्यालय भवन पूर्ण रूपमा ध्वस्त भएका छन् भने गाउँका केही भागसमेत तहसनहस भएका छन्।

बाढीमा १,३०० भन्दा बढी मानिसको मृत्यु भएको केही दिनपछि रसुवाको बेत्रावती क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापनाको काम भइरहेको छ।

बेत्रावतीमा विद्युत् सेवा अवरुद्ध हुँदा घर, विद्यालय, अस्पताल तथा अन्य अत्यावश्यक सेवाहरू प्रभावित भएका छन्।

स्थानीय प्रशासन तथा विद्युत् प्राविधिकहरू विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन तीव्र गतिमा काम गरिरहेका छन्।

नयाँ विद्युत् पोल गाड्ने, क्षतिग्रस्त प्रसारण लाइन मर्मत गर्ने तथा अन्य पूर्वाधार पुनःनिर्माणको काम भइरहेको छ। यस कार्यमा स्थानीय बासिन्दाले पनि सहयोग गरिरहेका छन्।

बाढीपछिको अवस्थाले नेपालमा जनजीवनका विभिन्न पक्ष प्रभावित भएका छन्। बाढी प्रभावित क्षेत्रमा खानेपानीका स्रोत दूषित भएको र संक्रामक रोग फैलिन सक्ने जोखिम समेत देखिएको छ।(एएनआइ)