काठमाडौं — साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको बजारले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
बिहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २ हजार ५४२.७७ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ०.३१ अंक, फ्लोट इन्डेक्स ०.१५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१२ अंकले बढेका छन्।
परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। बुधबार २ अर्ब ९४ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ३४६ स्टकको ४० हजार ६९२ पटकको कारोबारमा १ करोड २१ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशत बढेको छ। चिरख्वा हाइड्रोपावरको सेयरमूल्य ८.५ प्रतिशतभन्दा बढी र आशा लघुवित्तको करिब ८.५ प्रतिशत बढेको छ।
कारोबारमा आएको पियोर इनर्जीको सेयरमूल्य भने सर्वाधिक १३.३३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब १३ करोड ५० लाख र सोलु हाइड्रोपावरको १२ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
१३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूह घटेका छन्। लगानी उपसमूहको परिसूचक सर्वाधिक १.२६ प्रतिशत बढेको छ। व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले बढेको छ।
वित्त, जलविद्युत्, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक भने सामान्य अंकले घटेका छन्।



