विपद् प्रभावित क्षेत्रमा लघुवित्तका शाखा सार्न राष्ट्र बैंकको स्वीकृति नचाहिने

Headlines बैंक/वित्त

काठमाडौँ — नेपाल राष्ट्र बैंकले प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा लघुवित्त वित्तीय संस्थाका शाखा तथा कार्यालय पूर्वस्वीकृतिबिनै स्थानान्तरण वा नजिकको शाखामा समायोजन गर्न सक्ने व्यवस्था गरेको छ।

राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै रसुवालगायत प्रभावित क्षेत्रमा क्षति पुगेका वा सञ्चालन गर्न असहज भएका शाखा तथा कार्यालयलाई सेवा सुचारु गर्ने प्रयोजनका लागि यस्तो सुविधा दिएको हो।

शाखा स्थानान्तरण वा समायोजन गरेपछि सात दिनभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ।

त्यस्तै, विपद्का कारण चेक, कार्ड, मोबाइल तथा बैंकिङ कारोबारका लागि आवश्यक अन्य कागजात गुमाएका ग्राहकलाई वैकल्पिक प्रक्रियाबाट वित्तीय सेवा उपलब्ध गराउन राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

ग्राहकको संस्थामा रहेको हस्ताक्षर नमुना, फोटो तथा अन्य विवरणका आधारमा पहिचान यकिन गरी वित्तीय सेवाको पहुँच सुनिश्चित गर्न राष्ट्र बैंकले भनेको हो।

यो व्यवस्था ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि लागू हुने राष्ट्र बैंकले जनाएको छ।