काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि हालसम्म भएका खोज, उद्धार, राहत तथा विपद् व्यवस्थापनका गतिविधिबारे नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री शाहले केहीबेरअघि प्रधान सेनापति सिग्देलबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा राहत कार्यबारे जानकारी लिएका हुन्।
प्रधान सेनापतिसँगको छलफलपछि प्रधानमन्त्री शाहले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिने कार्यक्रम रहेको छ। त्यसैगरी नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि आजै बाढीपछिको अवस्थाबारे जानकारी लिने जनाइएको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री शाहले तीनवटै सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष जानकारी लिइरहेका छन्।


