काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेल्दैछ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा खेल बिहान ७ः१५ बजे सुरु हुनेछ।
५० ओभरको क्रिकेटमा नेपालले पहिलोपटक बहराइनसँग खेल्न लागेको हो। नेपाल पहिलो खेलमै जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्ने लक्ष्यमा छ।
यसपटकको प्रतियोगिता नेपालका लागि महत्वपूर्ण छ। उपाधि विजेता टोलीले सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ। त्यसैले नेपाल समूह चरणका चारै खेल जित्दै उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिँदैछ।

नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।
नेपालले बहराइनपछि भदौ १८ गते मलेसिया, भदौ २१ गते साउदी अरेबिया र भदौ २३ गते हङकङसँग खेल्नेछ।
प्रतियोगिताअघि नेपालले मलेसियासँग खेलेका दुवै अभ्यास खेल जितेको थियो। दोस्रो खेलमा १७१ रनको लक्ष्य रक्षा गर्दै नेपाल २७ रनले विजयी भएको थियो।
पूर्वक्रिकेटर दीपेन्द्र चौधरीले प्रतियोगितामा नेपालको बलियो पक्ष बलिङ रहेको बताए। अभ्यास खेल र प्रशिक्षणले खेलाडीलाई मलेसियाको वातावरणमा अभ्यस्त हुन सहयोग गरेको उनको भनाइ छ।
नेपालले प्रिमियर कपको पहिलो संस्करणको उपाधि जितेको थियो। सन् २०२३ मा युएईलाई ७ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको थियो। यसपटक पनि उपाधि जितेर एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य छ।


