काठमाडौं । रसुवालगायतका क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि चीन सरकारले ३३ करोड ६ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग उपलब्ध गराएको छ। चीन सरकारले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि घोषणा गरेको २० लाख अमेरिकी डलर र चिनियाँ रेडक्रसले उपलब्ध गराएको २ लाख अमेरिकी डलर सहयोग आइतबार नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।
अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चीन सरकारको २० लाख अमेरिकी डलर अर्थात् करिब साढे ३० करोड रुपैयाँको चेक हस्तान्तरण गरे। त्यसैगरी चिनियाँ रेडक्रसको २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड ६ लाख रुपैयाँ सहयोग पनि हस्तान्तरण गरिएको छ।
सहयोग हस्तान्तरणका क्रममा राजदूत माओमिङले रसुवाको बाढीमा ज्यान गुमाएका नेपालीप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गरेको सन्देश सुनाए।

“यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ,” राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै उनले भने।
उनले नेपालमा विपद्पछिको उद्धार तथा राहतमा चीनको सहयोग निरन्तर रहने बताए। हिमालय क्षेत्रमा आएको विपत्तिको सामना नेपाल र चीनले मिलेर गर्नुपर्ने उनको भनाइ थियो।
राजदूत माओमिङका अनुसार चीनले नगद सहयोगसँगै आवश्यक राहत सामग्री पनि नेपाल पठाउन थालेको छ।
आइतबार मात्रै दुईवटा चिनियाँ जहाजमार्फत ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुट लगायतका सामग्री काठमाडौं ल्याइएको उनले जानकारी दिए।
नेपालका लागि घोषणा गरिएका थप सहायता सामग्री पनि क्रमशः नेपाल भित्रिन थालेको उनले बताए। चीनले आगामी दिनमा पनि आवश्यक सहयोग निरन्तर गर्ने उनको भनाइ छ।
बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारमा सहयोग गर्न चीनले दक्ष जनशक्ति र उपकरण नेपाल पठाएको छ।
राजदूत माओमिङका अनुसार चिनियाँ हेलिकप्टरसहितको दक्ष उद्धार टोली शनिबार नै नेपाल आइपुगेको थियो। थप केही दक्ष उद्धार प्राविधिकसमेत आइतबार नेपाल आइपुगेका छन्।
नेपाल सरकारले ठूलो परिमाणमा राहत तथा उद्धार सामग्री बोक्न सक्ने ड्रोन उपलब्ध गराउन गरेको अनुरोधअनुसार चीनले त्यस्तो ड्रोन नेपाल ल्याउने प्रक्रिया पनि तीव्र बनाएको उनले बताए।
रसुवाको बाढीका कारण चीनतर्फ रोकिएका नेपालीलाई नेपाल फर्काउन पनि पहल भइरहेको छ।
राजदूत माओमिङले उनीहरूलाई मुस्ताङको कोरोला नाका हुँदै नेपाल ल्याउने व्यवस्था मिलाउन पहल भइरहेको जानकारी अर्थमन्त्री वाग्लेलाई गराए।
चीन सरकारको सहयोग ग्रहण गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे।
नेपाल र चीन दुवैले विपत्तिका कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले चीनमा भएको क्षतिप्रति नेपाल सरकारका तर्फबाट दुःख व्यक्त गरे। बाढीमा ज्यान गुमाएका चिनियाँ नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूका परिवारप्रति समवेदना पनि व्यक्त गरे।
बढ्दो विश्व तापक्रमका कारण हिमालय क्षेत्रका मुलुकले व्यहोर्नुपर्ने जलवायुजन्य विपत्तिको जोखिम बढिरहेको उल्लेख गर्दै वाग्लेले यसको सामना गर्न नेपाल र चीनबीच सहकार्य आवश्यक रहेको बताए।
बाढीबाट नेपालले व्यहोरेको क्षतिको पुनर्निर्माणका लागि चीनबाट थप ठूलो सहयोगको अपेक्षा रहेको उनले बताए।
सहयोग हस्तान्तरण कार्यक्रममा अर्थमन्त्री वाग्ले र राजदूत माओमिङले बाढीमा ज्यान गुमाएका नेपाल तथा चीन दुवै देशका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारणसमेत गरेका थिए।


