काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा हालसम्म ७६८ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
प्रहरी प्रधान कार्यालयले २०८३ भदौ १४ गते दिउँसो २ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा ७ हजार ८९४ जना प्रहरी परिचालन गरिएको जनाएको छ। बाढीपछि २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्।
प्रहरीका अनुसार फेला परेका शवमध्ये चितवनमा २६४, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जना रहेका छन्।

बाढीमा परेका २ हजार ७१५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये रसुवाका ६९२, नुवाकोटका २ हजार २० र धादिङका तीन जना रहेका छन्।
काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १६० जना रहेको प्रहरीले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा परिचालित सुरक्षा टोलीले खोज तथा उद्धारसँगै बेपत्ता व्यक्तिको खोजी, घाइतेको व्यवस्थापन तथा राहत कार्यलाई निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ।


