भोटेकोशी बाढी : उद्धार र राहतमा जुट्न निजी क्षेत्रलाई महासंघको आह्वान
काठमाडौं , नेपाल उद्योग वाणिज्य महासंघले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रको सम्पूर्ण सामर्थ्य परिचालन गर्न उद्योगी–व्यवसायीलाई आह्वान गरेको छ।
महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

महासंघले बेपत्ता नागरिक तथा व्यवसायीको तत्काल खोजी, उद्धार र सुरक्षित स्थानान्तरणका लागि सम्बन्धित निकायसँग आग्रह गरेको छ। थप जनधनको क्षति रोक्न सरकार, सुरक्षा निकाय, स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन संयन्त्रलाई उद्धार, खोजी तथा राहतको काम थप प्रभावकारी र तीव्र बनाउन आग्रह गरिएको छ।
जोखिम क्षेत्रमा आवागमन नियन्त्रण गर्न आग्रह
महासंघले त्रिशूली नदी तथा यससँग जोडिएका तटीय क्षेत्रमा जोखिम अझै कायम रहेकाले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ।
जोखिमपूर्ण क्षेत्रमा आवागमन नियन्त्रण तथा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउनसमेत महासंघले सरकारसँग आग्रह गरेको छ। विपद्को अवस्थामा थप मानवीय क्षति रोक्न स्थानीय तह र सुरक्षा निकायबीच समन्वय बढाउनुपर्नेमा महासंघले जोड दिएको छ।
उद्योगी–व्यवसायीलाई राहतमा जुट्न अपिल
महासंघले मातहतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ तथा देशभरका उद्योगी–व्यवसायीलाई स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न अपिल गरेको छ।
सम्भव भएसम्म *खाद्यान्न, पिउने पानी, औषधि, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री* व्यवस्थापन गरी प्रभावित परिवारसम्म सुरक्षित रूपमा पुर्याउन महासंघले आग्रह गरेको छ।
विपद्को समयमा निजी क्षेत्रले आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै राज्यका राहत तथा उद्धार प्रयासमा हातेमालो गर्नुपर्ने महासंघको भनाइ छ।
अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन आग्रह
महासंघले विपद्का कारण उत्पन्न असहज परिस्थितिमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति नियमित र निर्वाध राख्न उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ।
विपद्को अवस्थालाई अवसरका रूपमा प्रयोग गरी कृत्रिम अभाव सिर्जना नगर्न तथा अत्यावश्यक वस्तुको मूल्यमा अस्वाभाविक वृद्धि नगर्नसमेत महासंघले अपिल गरेको छ। मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई सर्वोच्च प्राथमिकतामा राख्दै यथोचित र स्थिर मूल्य कायम गर्न महासंघले आग्रह गरेको हो।
सरकारसँग सहकार्य गर्न प्रतिबद्ध
महासंघले प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा स्थानीय समुदायको साथमा रहेको जनाएको छ। उद्धार, राहत तथा पुनःस्थापनाका काममा सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्न महासंघ पूर्ण रूपमा प्रतिबद्ध रहेको अध्यक्ष श्रेष्ठले बताएका छन्।
महासंघले विपद्को कठिन घडीमा नागरिक तथा उद्योगी–व्यवसायीलाई उच्च सतर्कता अपनाउन, संयमित र सुरक्षित रहन तथा एकअर्कालाई सहयोग गर्न आह्वान गरेको छ।
बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहतसँगै आगामी दिनमा पुनःस्थापना तथा पुनर्निर्माणका लागि समेत ठूलो स्रोत र निजी क्षेत्रको सहयोग आवश्यक पर्ने भएकाले त्यसतर्फ समेत महासंघले आफ्नो भूमिका विस्तार गर्ने संकेत गरेको छ।


