काठमाडौं। बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले भदौ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्नेछ।
कम्पनीले जारी पुँजीको २० प्रतिशत बराबर २० लाख ८० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। त्यसमध्ये आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर निष्कासन तथा बाँडफाँट भइसकेको छ।
अब बाँकी ८ लाख ६३ हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो। प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा निष्कासन हुने आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा मागअनुसार आवेदन नपरेमा असोज ५ गतेसम्म निष्कासन अवधि लम्बिनेछ।
बेनी हाइड्रोपावरले सोलुखुम्बुमा १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको अनुमानित कुल लागत ३ अर्ब ८५ करोड ५१ लाख रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
कम्पनीको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि अझै २४ वर्ष बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.७८ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष अनुमान गरिएको छ।
आईपीओ निष्कासनका लागि इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणालीमा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरोसेयरमार्फत पनि आवेदन गर्न सकिनेछ।


