काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै डिजाइन तथा निर्माण भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ सार्वजनिक गर्नुभएको छ।
सिप्रदी यात्री कम्पनीले नेपालमै उत्पादन गरेको उक्त स्कुटर सोमबार सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमै डिजाइन र उत्पादन भएको विद्युतीय सवारीले राष्ट्रिय आत्मविश्वास बढाएको बताउनुभयो।
“बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो। नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो,” उहाँले भन्नुभयो, “नेपालमै बनेको यात्री विद्युतीय स्कुटरले राष्ट्रिय आत्मविश्वास पनि जगाएको छ।”

अर्थमन्त्री वाग्लेले ‘यात्री पी–२’ इटालीका प्रतिष्ठित ब्रान्डका उत्पादनभन्दा पनि अब्बल बन्ने र विश्व बजारमा आफ्नो स्थान बनाउन सफल हुने विश्वास व्यक्त गर्दै शुभकामना दिनुभयो।
उहाँले स्वदेशमै उत्पादन भएको गुणस्तरीय विद्युतीय सवारीको विस्तारका लागि सरकारले आवश्यक सहयोग र संरक्षण उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।


