काठमाडौं । बैंकबाट फोन गरेको भन्दै केवाइसी अपडेटका नाममा सर्वसाधारणलाई ठगी गर्ने चार जना पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्यूरोबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा चितवनबाट चार जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।
पक्राउ पर्नेमा बाराको देउताल गाउँपालिका–४ का २२ वर्षीय अभय तिवारी, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–१६ का २२ वर्षीय जयकुमार केवट, सोही नगरपालिका–१७ का २२ वर्षीय विद्यासागर केवट र पर्साको वीरगञ्ज महानगरपालिका–३ का २७ वर्षीय कुवेर थापा छन्।

प्रहरीका अनुसार उनीहरूले ‘बैंकबाट बोलेको हुँ, केवाइसी अपडेट गर्नुपर्यो’ भन्दै विशेषगरी बहालवाला तथा सेवानिवृत्त कर्मचारीलाई फोन र ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए।
केवाइसी अपडेट गर्ने बहानामा पीडितलाई मोबाइलमा स्क्रिन सेयर गर्न लगाउने र त्यस क्रममा खाताको सुरक्षाका लागि मोबाइलमा आउने ओटीपी कोड प्राप्त गर्ने वा ओटीपी मागेर बैंक खातामा अनधिकृत पहुँच बनाउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
खातामा पहुँच बनाएपछि रकम अन्य खातामा रकमान्तर गरी ठगी गर्ने गरेको प्रहरीको भनाइ छ।
प्रहरीले पक्राउ परेकाहरूविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनधिकृत पहुँच तथा विद्युतीय माध्यमसम्बन्धी ठगी कसुरमा अनुसन्धान अघि बढाएको छ।
यस सम्बन्धमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


