काठमाडौं । कर्णालीमा निर्माण हुने ४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनाले निर्माणका लागि आवश्यक लगानी जुटाउने प्रक्रिया पूरा गरेको छ। आयोजना प्रवर्द्धक तिला पावर कम्पनीले बैंक तथा वित्तीय संस्थासँग वित्तीय व्यवस्थापन सम्झौता गरेसँगै ७० अर्ब ७ करोड रुपैयाँ लागतको आयोजना निर्माणमा जाने आधार तयार भएको हो।
आयोजनाको कुल लागतको ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ ऋणबाट र बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइनेछ। एभरेस्ट बैंकको अगुवाइमा ऋण लगानी संरचना तयार गरिएको छ। सानिमा बैंक सहअगुवा तथा प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्।
सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक पनि आयोजनामा लगानी गर्ने बैंकका रूपमा रहेका छन्।

कालीकोटको तिलागुफा नगरपालिकामा आयोजनाको बाँध र खाँडाचक्र नगरपालिकामा विद्युत् गृह निर्माण हुनेछ। अर्धजलाशययुक्त आयोजनाले सुक्खायाममा दैनिक ६ घण्टासम्म उच्च मागको समयमा विद्युत् उत्पादन गर्नेछ।
आयोजनाबाट वार्षिक २ हजार ३१८.७९ गिगावाट आवर विद्युत् उत्पादन गर्ने लक्ष्य छ। त्यसमध्ये सुक्खायामको उच्च मागको समयमा ४५१.०५ गिगावाट आवर, सोही मौसमको कम मागको समयमा २०५।४५ गिगावाट आवर र वर्षायाममा १ हजार ६६२.२९ गिगावाट आवर विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ।
उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ। आयोजना निर्माण सुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
तिला–२ ले विद्युत् विकास विभागबाट ७ भदौ २०७५ मै विद्युत् उत्पादन अनुमति पाइसकेको छ। नेपाल विद्युत् प्राधिकरणसँग ७ कात्तिक २०८१ मा २९६.७४ मेगावाट क्षमताका लागि विद्युत् खरिद–बिक्री सम्झौता पनि गरिसकेको छ।
आयोजनाले प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याउने व्यवस्था गरेको छ। आयोजनाका मुख्य प्रवर्द्धकमा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड, रविन्स यूएसएसहित संस्थागत तथा व्यक्तिगत लगानीकर्ता रहेका छन्।
वित्तीय व्यवस्थापन टुंगिएसँगै आयोजना अब निर्माणको चरणमा प्रवेश गर्नेछ। सुक्खायामको उच्च मागका बेला दैनिक ६ घण्टा विद्युत् उपलब्ध गराउन सक्ने भएकाले तिला–२ लाई विद्युत् उत्पादनसँगै माग व्यवस्थापनका दृष्टिले पनि महत्त्वपूर्ण आयोजनाका रूपमा हेरिएको छ।


