काठमाडौं । नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकको खुद नाफा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ पुगेको हो।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा बैंकले १ अर्ब ८१ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यसअनुसार एक वर्षको अवधिमा बैंकको खुद नाफा १२.८९ प्रतिशतले वृद्धि भएको छ।
नाफामा भएको वृद्धिसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा १५ रुपैयाँ ९८ पैसा रहेको ईपीएस गत आर्थिक वर्षमा बढेर १८ रुपैयाँ ४ पैसा पुगेको बैंकले जनाएको छ।
वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा रहेको छ भने प्रतिशेयर कुल सम्पत्तिको मूल्य २ हजार १९१ रुपैयाँ ४ पैसा छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी २१ रुपैयाँ ७७ पैसा तथा मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १८.०४ गुणा रहेको छ।
बैंकले गत आर्थिक वर्षमा निक्षेप तथा कर्जा दुवै विस्तार गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन बढेर २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकले प्रवाह गरेको कर्जा तथा सापटी १ खर्ब ४६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।
खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा ५ अर्ब २६ करोड ६० लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको हो।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ। बैंकको चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ रहेको छ।
कर्जा विस्तारमा चुनौती
नाफा वृद्धि भए पनि बैंकले कर्जा विस्तारका लागि चुनौतीपूर्ण अवस्था रहेको स्वीकार गरेको छ। व्यवस्थापकीय विश्लेषणमा बैंकिङ प्रणालीमा आर्थिक गतिविधि सुस्त हुनुका साथै अधिक तथा अस्थिर तरलता र दीर्घकालीन कर्जा तथा लगानीका लागि पर्याप्त अवसरको अभावलाई प्रमुख बाह्य चुनौतीका रूपमा उल्लेख गरिएको छ।
गुणस्तरीय सम्पत्ति पहिचान गर्दै नयाँ कर्जा विस्तार गर्नु पनि चुनौतीपूर्ण रहेको बैंकको भनाइ छ। विश्वव्यापी राजनीतिक तनाव, इन्धनको मूल्यवृद्धि तथा अन्य अन्तर्राष्ट्रिय घटनाक्रमले आर्थिक गतिविधि र कर्जा असुलीमा समेत प्रभाव पारेको बैंकले जनाएको छ।
यस्ता चुनौतीका बीच बैंकले आगामी दिनमा रिटेल कर्जा पोर्टफोलियो विस्तारलाई प्राथमिकतामा राख्ने रणनीति बनाएको छ। साथै, कम लागतका निक्षेप बढाउन दायित्वतर्फ नयाँ उत्पादन विस्तार गर्ने तथा वैकल्पिक च्यानल र प्रविधिमा आधारित प्लेटफर्ममार्फत सञ्चालन लागत घटाउने योजना बैंकले अघि सारेको छ।



