काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार लाभांश क्षमता दोब्बरभन्दा बढी बढेर २६.१५ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यो १३.०४ प्रतिशत रहेको थियो।
बैंकको वितरणयोग्य मुनाफा पनि उल्लेख्य वृद्धि भएको छ। समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा ११०.४७ प्रतिशतले बढेर ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ८३ करोड रुपैयाँ थियो।
यसैगरी, बैंकको खुद नाफा ४.५४ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी (EPS) २३.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२५.१७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ६०९.९३ रुपैयाँ कायम भएको छ। बैंकको मूल्य–आम्दानी अनुपात (P/E Ratio) १७.१३ गुणा तथा तरलता अनुपात ३४.७१ प्रतिशत रहेको छ।
बैंकको खुद ब्याज आम्दानी पनि ७.२४ प्रतिशतले बढेर ९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो।
यद्यपि, बैंकको खराब कर्जा (NPL) अनुपात भने केही बढेको छ। अघिल्लो आर्थिक वर्षमा २.६२ प्रतिशत रहेको खराब कर्जा अनुपात समीक्षा अवधिमा ३.५३ प्रतिशत पुगेको छ। तर, कस्ट अफ फण्ड भने ४.३९ प्रतिशतबाट घटेर ३.४२ प्रतिशतमा सीमित भएको छ।
त्यस्तै, बैंकको रिटर्न अन इक्विटी (ROE) अघिल्लो आर्थिक वर्षको ११.४१ प्रतिशतबाट घटेर १०.६२ प्रतिशत मा झरेको छ।
समीक्षा अवधिसम्म बैंकले ३ खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब ३३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।


