काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्नुहुने भएको छ।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा बैंकिङ क्षेत्रको भूमिका, वित्तीय प्रणालीको वर्तमान अवस्था तथा वित्तीय बजारसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
मन्त्रालयका अनुसार बजेटका सुधारात्मक नीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रमुख वित्तीय संस्थाहरूको भूमिका तथा बैंकिङ क्षेत्रबाट प्राप्त सुझाव संकलन गर्ने उद्देश्यले सिइओहरूलाई छलफलका लागि आमन्त्रण गरिएको हो।

छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा वर्गीकृत गरेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहनेछ।

