अवैध नगदको आशंकामा उद्योगी प्रकाश मुन्दडाको घरमा छापा, केही पनि भेटिएन

समाचार

काठमाडौं । मोरङका उद्योगी तथा व्यवसायी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले सोमबार बिहान व्यापक खानतलासी गरेको छ।

प्रहरीका अनुसार बिहान करिब ४ बजेदेखि सुरु भएको खानतलासी करिब साढे पाँच घण्टासम्म चलेको थियो। मुन्दडा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका उपाध्यक्ष हुन्।

विराटनगर–७ स्थित मुन्दडाको निवास र कार्यालयमा खानतलासीका क्रममा प्रहरीले आसपासको क्षेत्रमा सर्वसाधारणको आवतजावत तथा सवारीसाधन सञ्चालनसमेत रोक लगाएको थियो। अपरेसनमा जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

खानतलासी अभियानको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गरेका थिए। प्रहरी स्रोतका अनुसार मुन्दडाले अवैध रूपमा ठूलो परिमाणमा नगद राखेको आशंकाका आधारमा खानतलासी गरिएको हो।

यद्यपि, प्रहरीले मुन्दडाको घर तथा कार्यालयबाट नगद वा अन्य कुनै आपत्तिजनक सामग्री बरामद नभएको जनाएको छ।