काठमाडौं । युवा अभियन्ता किरण बिकले आन्दोलनको समाधानका लागि संघीय सरकारले सुरक्षा निकायभन्दा स्थानीय तथा प्रदेश सरकारसँग प्रभावकारी समन्वय गर्नुपर्ने सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री तथा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै बिकले आन्दोलन नियन्त्रणका लागि सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मा मात्र निर्भर हुनुको सट्टा स्थानीय जनप्रतिनिधि र प्रदेश सरकारलाई सक्रिय रूपमा परिचालन गर्नुपर्ने धारणा व्यक्त गरेका हुन्।
उनले स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, वडाध्यक्ष, प्रदेश मन्त्री, प्रदेशसभा सदस्य तथा संघीय सांसदलाई आन्दोलनकारीसँग संवाद र समन्वयमा परिचालन गर्न सके समाधानको बाटो खुल्न सक्ने बताएका छन्।

बिकले प्रत्येक जनप्रतिनिधिले आफ्नो क्षेत्रका १०–१५ जना आन्दोलनकारीलाई संवादमार्फत घर फर्काउन पहल गरे आन्दोलन स्वतः मत्थर हुने दाबी गर्दै त्यसका लागि नेपाल सरकारले समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका छन्।
उनको भनाइमा आन्दोलनको दीर्घकालीन समाधान बल प्रयोगभन्दा पनि जनप्रतिनिधिमार्फत संवाद, विश्वास र सहकार्यबाट सम्भव हुने संकेत गरिएको छ।

