२०७७ जेष्ठ ०८ : काठमाडौँ – जिल्ला प्रशासन कार्यालयको समन्वयमा गौरीफन्टा नाकामा पुगेका नेपालीको केही दिनदेखि उद्धार भइरहेको छ । बुधबार ८५८ को उद्धार गरी विभिन्न क्वारेन्टाइनमा राखिएकामा आज झण्डै २२६ जनाको उद्धार गरिएको छ ।
यसअघि कतिपयलाई स्वास्थ्य जाँचविना नै भित्र्याएकामा आज सीमामा आरडिटी जाँचको व्यवस्था गरिएको छ । भारतका विभिन्न शहरबाट फर्किने बढेपछि उहाँहरुको व्यवस्थापन गर्न चुनौती थपिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले बताउनुभयो ।
धनगढीको कैलाली बहुमुखी क्याम्पस, त्रिनगर सीमा नाकाको नवदुर्गा माविलगायत शैक्षिक संस्थालाई क्वारेन्टाइनका रुपमा प्रयोग गरिएको छ । यसैबीच सीमापारी भारतको पलिया बजार र आसपासका क्षेत्रमा व्यवस्था गरिएका क्वारेन्टाइनमा ७११ नेपाली बसिरहेका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

