प्रभु बैंककी सीबीओ रश्मी पन्त पक्राउ, ४८ करोड कर्जा अनियमितता प्रकरणमा सीआईबी अनुसन्धान

बैंक/वित्त

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रभु बैंक लिमिटेडकी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्तलाई पक्राउ गरेको छ।

सीआईबीका अनुसार कर्जा प्रवाहमा भएको कथित अनियमिततासम्बन्धी अनुसन्धानका लागि पन्तलाई नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

सीआईबीका अनुसार पन्त लामो समयदेखि फरार रहेकाले खोजीका क्रममा पक्राउ परेकी हुन्। ब्यूरोले रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जामा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको छ। यही प्रकरणमा कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल पनि अनुसन्धानका लागि सीआईबीको हिरासतमा रहेका छन्।

अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणबाट उक्त कर्जा प्रवाहमा अनियमितता भएको तथ्य औंल्याएपछि अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।