सांसदको आरडीटी ‘पोजेटिभ’

विविध

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बच्न संसद बैठक चलाउनुअघि ५ नम्बर प्रदेशका सांसदको आरडीटी परीक्षण गर्दा २ जना सांसदको रिपोर्ट पोजेटिभ देखिएको छ ।

शुक्रबारदेखि सुरू हुने बजेट अघिवेशनअघि गरिएको परीक्षणमा २ सांसदसहित ११ जना व्यक्तिको पोजेटिभ रिपोर्ट देखिएको छ ।

प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले २ सांसद, १ सचिवालयका कर्मचारी र अन्य ८ जना सांसदका स्वकीय सचिव तथा सुरक्षागार्डमा पोजेटिभ रिपोर्ट देखिएको बताए ।

प्रदेशसभाले पीसीआर टेस्ट गर्ने किट अभाव भएको भन्दै आरडीटी परीक्षण गरिएको थियो । ८० सांसद, सुरक्षाकर्मी र स्वकीय सचिवको पनि परीक्षण भएको छ । पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीले ४० जना पत्रकारको पनि आरडीटी परीक्षण गरिएको जानकारी दिए ।

पोजेटिभ नजिता आएका सांसद, स्वकीय सचिव र सुरक्षा गार्डलाई क्वारेन्टाइनमा राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छ ।