२०७७ जेष्ठ ०८ : काठमाडौँ – गृहमन्त्रालयले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गरेको छ । जेठ १ गते गृहमन्त्री रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको बैठकमा स्थानीय जनप्रतिनिधिले दिएको सल्लाह अनुसार उक्त निर्देशन दिइएको गृहमन्त्रालयले जनाएको छ। गृहले बुधबार उपत्यकाका सबै स्थानीय निकायलाई परिपत्र गर्दै नाका सिल गर्न निर्देशन दिएको हो।
काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम बढेको र काठमाडौं उपत्यकाको जनघनत्व समेत बढी भएकाले उच्च जोखिम देखिएकाले अत्यावश्यक काम बाहेकलाई उपत्यका प्रवेशमा निषेध गर्ने उल्लेख गरिएको छ। त्यसैगरी काठमाडौं प्रवेश गर्ने सबै नाका सिल गर्ने र लुकिछिपी प्रवेश गर्नेहरुलाई समेत पूर्ण रुपमा रोक लगाउन निर्देशन दिइएको हो।
सबै स्थानीय तहले आआफ्नो क्षेत्रमा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थलहरुलाई क्वारेन्टाइनमा बस्ने व्यक्तिले क्वारेन्टाइन खर्च तिर्ने गरी सम्भावित क्वारेन्टाइन्का लागि लगत संकलन गर्न समेत भनेको छ। त्यस्तै अत्यावश्यक कामले उपत्यका प्रवेश गर्नेको हकमा समेत आरडिटी रिपोर्ट चाहिने उल्लेख गरिएको छ ।

