शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अब ई–टिकेटिङ

समाचार

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यले ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउने उद्देश्यका साथ शनिबार ई–टिकेटिङ सेवाको सफल परीक्षण सुरु गरिएको हो ।

परीक्षण सफल भएपछि आगामी हप्तादेखि पानी मुहान र नागार्जुन प्रवेशद्वारबाट औपचारिक रूपमा ई–टिकेटिङ सेवा सञ्चालन गरिने निकुञ्जले जनाएको छ ।

यस कार्यक्रमलाई चरणबद्ध रूपमा विस्तार गर्दै मन्त्रालयको सहयोगमा आवश्यक पूर्वाधार, जस्तै कम्प्युटर, थर्मल प्रिन्टर, त्तच् स्क्यानर लगायतका उपकरण उपलब्ध गराइनेछ । विद्युत् तथा इन्टरनेट सुविधा पुगेका अन्य प्रवेशद्वार र चेकपोस्टहरूमा समेत ई–टिकेटिङ सेवा क्रमशः विस्तार गरिने योजना रहेको छ ।

मन्त्रालयले आगामी ६ महिनाभित्र देशभरका सबै राष्ट्रिय निकुञ्ज तथा आरक्षहरूमा ई–टिकेटिङ सेवा सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ । यस प्रणाली लागू भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीलाई सहज सेवा उपलब्ध हुने मन्त्री चौधरीले बताइन् ।