संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

Headlines राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् ।

मंगलबार राजनीतिज्ञ एवं सरोकारवालाबीच विचार आदान—प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको तपशील बमोजिमको कार्यक्रममा बोल्दै यादवले अधिकांश प्रमुख राजनीतिक दलले संघीयताप्रति आवश्यक प्रतिबद्धता नदेखाएको बताए ।

उनले भने, ‘नेपाल परिभाषाले संघीय लोकतान्त्रिक गणतन्त्र हुनेछ भनेर प्रस्तावनामै लेखेको छ । तर, अभ्यास त्यस्तो छैन । किनभने नेपालमा एकाध पार्टी बाहेक संघीयताप्रति इमान्दारिता देखिएन ।’

उनले आफू उपप्रधानमन्त्री रहेका बेला तत्कालीन नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीसँग संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गर्ने सहमतिमा हस्ताक्षर भएको उल्लेख गरे । तर, केही महिनापछि संघीयता र धर्मनिरपेक्षता बाह्य शक्तिले नेपालमा थोपरिएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि सहमति कार्यान्वयनमा नआएको बताए ।

यादवले त्यसपछि शेरबहादुर देउवासँग पनि संघीयता कार्यान्वयनका लागि संविधान संशोधन तथा प्रदेश प्रहरी समायोजन लगायत विषय अघि बढाउने सहमति भएको बताए । उनका अनुसार, प्रदेश प्रहरी समायोजन ऐन, २०७६ बने पनि त्यसको कार्यान्वयनमा सरकार पछि हटेकाले संघीयता कार्यान्वयनको प्रक्रिया पुरा नभएको बताए ।

उनले कांग्रेस र कम्युनिस्ट दलहरूले संघीयताको पक्षमा सार्वजनिक रूपमा बोल्ने गरे पनि व्यवहारमा त्यसअनुसारको प्रतिबद्धता नदेखिएको बताए । यादवले संघीयता सफल बनाउन राजनीतिक नेतृत्वले भाषणभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता रहेको बताए ।