नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

विविध

काठमाडौँ, ५ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार चारवटा भ्रष्टाचार मुद्दा दायर गरेको छ। नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालतमा चार जनाविरुद्ध मुद्दा दायर गरिएको हो।

ललितपुरको शान्ति विद्याश्रम उच्च माविका प्रधानाध्यापक दिव्यमणि ज्ञवालीलाई नक्कली प्रमाणपत्र पेस गरेको आरोप लागेको छ।

उनले सेवामा प्रवेश गर्दा आईएस्सी र बीएस्सीको भारतीय नक्कली प्रमाणपत्र पेस गरेको अख्तियारको आरोप छ। ज्ञवालीले भारतको विहारबाट ती नक्कली प्रमाणपत्र ल्याएको अख्तियारले जनाएको छ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरणको हेटौंडा शाखाका हेल्पर धनबहादुर रुम्बाविरुद्ध पनि मुद्दा दायर भएको छ। उनले ८ कक्षा पासको नक्कली प्रमाणपत्र बनाएको आरोप छ। त्यो प्रमाणपत्रका आधारमा उनले सुरुमा प्राधिकरणको कुल्ली पदमा नियुक्ति पाएका थिए।

त्यसैगरी अख्तियारले असई राजनसिंह भण्डारीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनले माध्यमिक तहको प्रमाणपत्र भारतबाट किनेको अख्तियारको आरोप छ।

विद्युत् प्राधिकरणकै इलेक्ट्रिसियन शंकर थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। उनीमाथि ५ कक्षाको नक्कली प्रमाणपत्र बनाएको आरोप छ।