पीएल सिंह मेमोरियल टी–२० कपको उपाधि काठमाडौँ महानगरलाई : पोखरामाथि ८ विकेटको शानदार जित

खेलकुद

काठमाडौं । काठमाडौं महानगरपालिकाले पीएल सिंह मेमोरियल टी–२० कप २०८३ को उपाधि जितेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा पोखरा महानगरलाई ८ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।

टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको काठमाडौंले पोखरा महानगरलाई १२२ रनमै अलआउट ग¥यो । त्यसपछि १२३ रनको लक्ष्य पछ्याएको काठमाडौंका ओपनर रित गौतमले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ७१ रन बनाए । उनीलाई रिङ्जिन लामाले अविजित ५० रन बनाएर साथ दिएपछि काठमाडौंले लक्ष्य केवल १२।३ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै उपाधि आफ्नो नाम ग¥यो ।

खेलको समापन समारोहमा काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोल र पोखरा महानगरका प्रमुख धनराज आचार्यले विजेता टोलीलाई नगद ११ लाख रुपियाँसहित ट्रफी र उपविजेता टोलीलाई नगद ५ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरे । प्लेयर अफ द फाइनल काठमाडौंका रित गौतमलाई सामाजिक समितिका संयोजक रामकुमार के.सी.ले पुरस्कृत गरे ।

प्रतियोगिताको व्यक्तिगत पुरस्कारतर्फ पवन सर्राफ उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर रित गौत्तमलाई जनही नगद २१ हजार रुपियाँसहित पुरस्कृत गरियो । यस्तै अर्जुन कुमाल प्रतियोगिताकै उत्कृष्ट खेलाडीका रुपमा नगद ५१ हजार रुपियाँसहित पुरस्कृत गरियो । यी पुुरस्कारहरु चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी, महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत र वडा नं. २९ का अध्यक्ष कुश ढकालले प्रदान गरे ।

त्यस अवसरमा क्रिकेट खेलको विकास, प्रवर्धन र सुदृढीकरणमा योगदान दिए वापत उपेन्द्र भट्टराई र विजयकुमार शर्मालाई जनही ५१ हजार रुपियाँसहित सम्मानित गरियो ।

समापन अवसरमा बोल्दै कार्यवाहक प्रमुख डंगोलले खुला र उदार सोचका पूर्व प्रमुख स्वर्गीय सिंहको व्यक्तित्व स्मृति हुने टुर्नामेन्टले, खेलको विकास र स्थानीय स्तरबाट खेलाडीको उत्पादनमा योगदान हुने अपेक्षा राखेको बताए ।

काठमाडौं महानगरले आयोजना गरेको अन्तर महानगर टी–२० खेल आन्तरिक प्रतियोगितामध्ये सबैभन्दा धेरै राशी पुरस्कार भएको खेल हो । यसका विजेता टीमले ११ लाख रुपियाँ र उपविजेता टीमले ५ लाख रुपियाँ नगदसहित पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै वेष्ट बलर र वेष्ट वाट्स म्यानलाई जनही २१ हजार रुपियाँ, प्लेयर अफ द टुर्नामेन्टलाई ५१ हजार रुपियाँ नगदसहित पुरस्कृत गरिनेछ ।