चिया निर्यात संकट समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन

Headlines आर्थिक

काठमाडौं । नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको अध्ययन तथा समाधानका लागि सरकारले एक विशेष कार्यदल गठन गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको उक्त कार्यदललाई चिया निर्यातमा देखिएका अवरोधहरूको विस्तृत अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।

कार्यदलको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह-सचिव रहनेछन्।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कृषि, वन तथा वातावरण मन्त्रालयका उपसचिवहरूको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।

त्यसैगरी, भन्सार विभागका उप-महानिर्देशक, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका निर्देशक, नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक तथा द्विपक्षीय व्यापार तथा पारवहन (भारत) शाखाका उपसचिव सदस्यका रूपमा रहनेछन्।

कार्यदलको सदस्य सचिवको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई तोकिएको छ।

भारतले गत मे १ देखि नेपाली चियामा शतप्रतिशत गुणस्तर परीक्षणको प्रावधान लागू गरेपछि नेपालबाट हुने चिया निर्यात प्रभावित हुँदै आएको छ। निर्यात प्रक्रियामा देखिएको जटिलताका कारण चिया उद्योग, किसान तथा निर्यातकर्ताहरू प्रभावित बनेपछि सरकारले समस्याको दीर्घकालीन समाधान खोज्न बहुपक्षीय प्रतिनिधित्वसहितको कार्यदल गठन गरेको हो।

कार्यदलले चिया निर्यातसँग सम्बन्धित नीतिगत, प्राविधिक, कूटनीतिक तथा व्यापारिक पक्षहरूको अध्ययन गरी सरकारलाई आवश्यक सुझाव उपलब्ध गराउने अपेक्षा गरिएको छ।