एभरेष्ट बैंकद्वारा नेपाल र भारतबीच रियल टाइम क्रस बोर्डर रेमिट्यान्स सेवा सुरु

बैंक/वित्त

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नेपाल र भारतबीच रियल–टाइम क्रस–बोर्डर रेमिट्यान्स सेवा औपचारिक रूपमा सुरु गरेको छ । हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर सम्झौतापछि बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘इबीएल टच २४’ मार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

यस नवीन डिजिटल सेवासँगै अब नेपाल र भारतका नागरिकहरूले अत्यन्त छिटो, सरल र सुरक्षित रूपमा तत्काल (रियल–टाइम) रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन् । बैंकका अनुसार नयाँ प्रणालीले दुवै देशबीचको आर्थिक कारोबारलाई थप सहज बनाउने विश्वास गरिएको छ ।

सेवाअन्तर्गत रकम स्थानान्तरणका लागि निश्चित सीमा तोकिएको छ । नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५ हजार र मासिक अधिकतम भारु १ लाखसम्म भारत पठाउन सक्नेछन् । यस्तै, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने दैनिक अधिकतम भारु २ लाखसम्म नेपाल पठाउन सक्नेछन् भने मासिक सीमा लागू नहुने जनाइएको छ ।
याँ प्रणालीमा प्रयोगकर्ताहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गरेर सजिलै रकम पठाउन सक्नेछन् । साथै, भारतका सेवाग्राहीहरूले युनिफाइड पेमेन्ट्स इन्टरफेस आईडीमार्फत सिधै रकम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

बैंकले यस सेवा सम्बन्धी थप जानकारीका लागि आफ्नो आधिकारिक वेबसाइट तथा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।