विराटनगरको एकीकृत बस्ती विपन्नका लागि ऋणको पासो बनेको आरोप

Headlines राजनीति

काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले विराटनगर महानगरपालिका–१२ स्थित केशलिया (बुढी खोला)किनारमा निर्माण गरिएको एकीकृत बस्तीको अवस्था दयनीय रहेको प्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले महानगरपालिका, ह्याबिटाट नेपाल र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा निर्माण गरिएको बस्ती सुकुम्बासीका लागि सुरक्षित आवास नभई ऋणको भार बनेको बताइन् ।

उनले भनिन्, ‘विराटनगर वडा न १२ मा नदी किनारमा बनेको एकिकृत सम्पन्न बस्ती नामको सम्पन्न हो । यो बस्ती विपन्नको चरम नमुनाका रुपमा छ । । महानगर र ह्यापीट्यी नेपाल र निजी जीवन विकास त्रिपक्षीय साझेदारी बनेको बस्ती सुकुम्वासीको लागि आवास होइन् ।’

उनले बस्तीमा आधारभूत पूर्वाधारसमेत नभएको बताइन् । उनका अनुसार त्यहाँ बाटो, ढल, खानेपानी र विद्युत् सेवाको व्यवस्था छैन । साथै नदी किनारमा निर्माण गरिएका करिब १०० घरधुरी सामान्य वर्षामै डुबानको जोखिममा पर्ने अवस्था रहेको उनले बताइन् ।

उनले भनिन्, ‘व्यवस्थापन हो की नीतिगत ठगी हो । न त बाटो छ, न त ढल छ । न त खानेपानी छ । नत बिजुली नै छ । विना सुरक्ष तटबन्धन नदी किनारको खोचमा बनाइएको १०० घरधुरी सामान्य झरीमै जलमग्न हुन्छ ।’