हिरासतमुक्त भएपछि जनक परियारले भने : दलित विरोधी सांसदहरुको दबाबमा गिरफ्तार गरियो

Headlines राजनीति

काठमाडौं । गत जेठ १५ गते गिरफ्तार भएका दलित अभियान्ता जनक परियार हिरासत मुक्त भएका छन् ।

सर्बोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि भएको सुनुवाईपछि परियार शुक्रबार रिहा भएका हुन् ।

शनिबार संवाद डबलीमा दलित अधिकारकर्मीहरुले गरेको कार्यक्रमा बोल्दै परियारले आफूलाई केही सांसदहरुको व्यापक दबाबमा प्रहरीले गिरफ्तार गरेको दाबी गरे ।

आफूलाई गरिफ्तार गरेलगत्तै ‘धार्मिक आस्थामाथि आघत पुर्याउन नहुने’ सम्बन्धी मुद्दा दायर गरेर सात दिनसम्म हिरासत राखेको जनाए ।

हजारौं वर्षदेखि दलितमाथि भएको थिचोमिचोको विषयमा पीडा व्यक्त गर्दा हिरासत पुग्नु परेको बताउँदै परियारले भने, ‘मेरो गिरफ्तारी होइन, सिंगो दलित समुदायमाथिको अपमान हो, हिरासतपछि मेरो आत्मबल थप बढेर आएको छ ।’ ‘मेरो शरीरमा एक थोपा रगत रहेसम्म दलितका पक्षमा आवाज उठाइरहनेछु’ परियारले थपे ।

अधिवक्ता यमकुमारी ददेलले बोलेकै आधारमा गिरफ्तार पर्नु संविधानकोे मर्म र भावना विपरित भएको बताइन् । जनकलाई राजनीतिक उच्च तहबाटै दबाबपछि गिरफ्तार गरिएको विषय प्रहरी प्रशासनले खुलासा गरेको जनाउँदै भनिन्, ‘माननीयज्यूहरुले आफ्नो गरिमालाई भूलेर दलित अभियान्तालाई पक्रेपनि सम्मानित अदालतले न्याय दिएको छ ।’

अधिवक्ता गम्भीर नेपालीले बोलेकै आधारमा व्यक्तिलाई पक्रनु निकै नै गम्भीर विषय भएको र राज्य त्यस्ता विषयमा संवेदनशील बन्नुपर्ने धारणा राखे ।

श्रम–संस्कृति पार्टीका नेता निर्मल परियारले जनकालाई गिरफ्तार गराउन सांसद ज्ञानबहादुर शाही हात धोएर लागेको र उनी दलित समुदायप्रति पूर्वाग्रह रहेको भन्दै आक्रोश व्यक्त गरे । ‘ज्ञानेन्द्रजी तपाई श्रीकृष्ण विक, अजित मिजार, इनिसा, रेस्मिका परियार, खगेन्द्र विकहरु अन्यायमा पर्दा चुइक्क नबोल्ने, अनि दलित अधिकारबारे बोल्नेहरुको मुखमा टेप लाउने, हामीले हिसाब राखेका छौं’ परियारले भने ।

परियारले भीम उपाध्यायले पनि जनकका विषयमा भए नभएका विषय उठान गरेर अतिरञ्जित गरेको र दलित अभियन्ताबाट उदाएका रास्वपा सांसद खगेन्द्र सुनार पनि मौन बस्ने विषयको हिसाब राखेको भन्दै चेतावनी दिए ।

राष्ट्रिय जेनजी नागरिक अभियानका प्रवक्ता विर्जन विकले दलितहरुका आत्मसम्मान, सामाजिक न्याय, समानता र समस्याका विषयमा बेलैमा हल नगरिए नेपालमा मात्रै नभएर दक्षिण एसियामै ठूलो विद्रोह जन्मने चेतावनी दिए ।

दलित अभियन्ता कृष्ण सेवाले जनक परियारको गैरन्यायीक गिरफ्तारीले सिंगो दलित समुदायमाथि नै प्रहार भएको बताए । ‘जनकलाई सम्मानित अदालतले रिहा त गर्यो तर दलितका तमाम समस्याहरुलाई समाधान नगरे भविष्यमा ठूलो आन्दोलन हुनसक्छ,’ सेवाले भने ।

नेपाली कम्युनिस्ट पार्टीका नेता गणेश गोतामेले माओवादीले १० वर्षको जनयुद्धमा दलितलाई अधिकार दिन सफल भएपनि पछिल्लो समयमा अधिकार खोसिन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

जेनजी सुप्रिया नेपालीले लुम्बिनी प्रदेशका सांसद सिके गुप्ताले जनक परियार विरुद्ध अभिव्यक्तिको सिंगो दलित समुदायले हिसाब राखेको चेतावनी दिइन् ।

जेनजी सुनिल विकले कर्णाली जस्तो सबैभन्दा उत्पीडनमा परेको क्षेत्रबाट आएका सांसद ज्ञानेन्द्र शाहीले कर्णालीकै दलित युवामाथि पूर्वाग्रह साँध्नुले उनको शासकीय मानसिकता झल्केको जिकिर गरे ।

परियारलाई गिरफ्तार गरे लगत्तै धार्मिक आस्थामाथि आघात पुर्याउन नहुने सम्बन्धी मुद्दा चलाएको थियो । परियारलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्चकी न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले सुनुवाइ गर्दै हिरासत मुक्त गरेको थियो ।

सो रिटमा अधिवक्ताहरु यमकुमारी ददेल, अप्सरा केसी, गम्भीर नेपाली र सरकारी वकिल शिला भूसालले बहस गरेका थिए ।