काठमाडौं । बजेट घोषणा अघि केही भन्सार नाकाबाट विद्युतीय सवारीसाधन (EV) को जाँचपासलाई लिएर फैलाइएका अफवाह र त्यसलाई जोडेर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विरुद्ध गरिएको टिप्पणीप्रति अर्थ मन्त्रालयले कडा आपत्ति जनाएको छ। मन्त्रालयले छानबिन प्रक्रिया जारी रहँदै गर्दा योजनाबद्ध रूपमा “मिडिया ट्रायल” र “चरित्र हत्या” गरिएको दाबी गर्दै त्यसविरुद्ध कानुनी कारबाही अघि बढाइसकेको स्पष्ट पारेको छ।
अर्थमन्त्रीका स्वकीय उपसचिव तथा जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले शनिबार जारी गरेको विज्ञप्तिमा रसुवागढी र कोरोला नाकाबाट भएका EV आयात सम्बन्धी विषयमा मन्त्रालयले छानबिन अघि बढाइसकेको र अनुसन्धान जारी रहेकै अवस्थामा मन्त्री तथा मन्त्रालयका अधिकारीहरूलाई जोडेर गरिएको प्रचारबाजी गैरजिम्मेवार रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार रसुवागढी नाकामा भन्सार बिन्दुमै नपुगेका सवारीसाधनको जाँचपास भएको आशंकाबारे गठित छानबिन समितिको सिफारिसपछि जेठ २० गते प्रमुख भन्सार अधिकृतसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरी भन्सार विभाग तानिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै, मुस्ताङको कोरोला नाकाबाट जाँचपास भएका सवारीसाधनबारे पनि मन्त्रालयको छानबिन टोलीले स्थलगत अनुसन्धान गरिरहेको बताइएको छ। अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधि सम्मिलित टोली हाल पनि फिल्डमै रहेको जनाइएको छ।
प्रारम्भिक रूपमा भन्सार छलीको आशंकामा केही सवारीसाधन तथा आयातकर्ता कम्पनीमाथि अनुसन्धान भइरहेको र यसको विस्तृत विवरण सार्वजनिक गरिने मन्त्रालयको भनाइ छ।
तर छानबिन प्रक्रिया चलिरहेकै बेला अर्थमन्त्री डा. वाग्ले तथा मन्त्रालयका जिम्मेवार अधिकारीहरूलाई लक्षित गर्दै गरिएको ‘मिडिया ट्रायल’, चरित्रहत्या र बजेटलाई विवादमा तान्ने प्रयासप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा यस्ता गतिविधिमा संलग्न केही व्यक्तिविरुद्ध कानुनी उपचारको प्रक्रिया सुरु भइसकेको तथा अन्यको हकमा पनि आवश्यक कानुनी कदम चालिने चेतावनी दिइएको छ।
मन्त्रालयले अर्थतन्त्र, बजेट, भन्सार तथा राजस्वजस्ता प्राविधिक विषयमा समाचार सामग्री तयार गर्दा सम्बन्धित निकायसँग तथ्य पुष्टि गर्न र सत्यतथ्यमा आधारित सूचना मात्रै सार्वजनिक गर्न सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रह गरेको छ।
Press Council_260605_212949
