काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि गठित छानबिन समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन शाहसमक्ष बुझाएको छ।
समितिका संयोजक तथा उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीले छानबिन प्रक्रिया पूरा गरी प्रतिवेदन बुझाएको जानकारी दिएका छन्।
समितिले गुरुङको बयान लिनुअघि उनीमाथि लागेका आरोपहरूको विभिन्न स्रोतबाट तथ्यगत अध्ययन गरेको थियो। आरोपसँग सम्बन्धित पक्षहरूसँग जानकारी संकलन गर्नुका साथै उनको सम्पत्ति विवरणको समेत विस्तृत समीक्षा गरिएको बताइएको छ।

मन्त्रिपरिषद्को २८ वैशाखको बैठकले गुरुङमाथि उठेका प्रश्नहरूको छानबिन गर्न पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका थिए।
व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। भट्ट हाल सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा हिरासतमा छन्।
त्यसपछि गुरुङले सार्वजनिक गरेको सम्पत्ति विवरणमा केही सेयर उल्लेख नगरिएको, साथै विवादास्पद मानिएका व्यवसायिक समूहसँग सम्बन्धित कम्पनीमा उनको लगानी देखिएको विषय बाहिर आएपछि राजनीतिक दबाब बढेको थियो। यही पृष्ठभूमिमा उनले ९ वैशाखमा प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिएका थिए।
