
सरकारले आज शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने भएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नै सांसदहरु उपस्थित रहने भएको छ ।सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले वाचन गर्नुहुने भएको हो । गतवर्ष पनि कतिपय ठाउँमा भाषिक त्रुटी भएको र सम्मान गर्नुपर्ने पदलाई सम्मान नगरिएको भन्दै आलोचना भएको थियो ।संघीय संसदका सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्नुहुने भएको छ । नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गर्ने छ । संविधानले नै जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि केही वर्षदेखि यही दिन वजेट प्रस्तुत हुँदै आएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो सरकार बनेपछि जनताको पक्षमा काम गर्छौ भन्दै आएपनि त्यो अनुसार काम नभएपछि जनतामात्र होइन सर्वसाधारणले पनि सरकारको आलोचना गर्दै आएका छन् । तर सरकारले आउँदो वजेटमा भने जनताको मन छुने योजनाहरु समेटिएको दावी गरेको छ ।विगतमा सरकारको नीति तथा कार्यक्रम आउनुअघि प्रि–वजेट छलफल गरिने परम्परा रहँदै आएकोमा यसपालि भने त्यो नहुने भएको छ । तर सरकारले भने प्रि–वजेट छलफल नीति तथा कार्यक्रम पछि पनि हुने दावी गर्दै आएको छ ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रि–वजेट छलफल गर्न सरकार तयार नभएकोमा आपत्ति जनाएको छ । संघीय संसदको बैठक सुरु हुनुभन्दा अघिल्लो दिन सिंहदरवारमा बसेको संसदीय दलको बैठकले वजेटका विषयमा पहिले नै छलफल गर्न पाउने सांसदको अधिकार कटौती गर्न खोजेकामा सरकारको आलोचना गरेको थियो । संसदको बैठक आव्हान गर्दा नै आज सरकारको नीति तथा कार्यक्रम गर्ने टुंगो लागेको थियो ।नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद रामबहादुर विष्टले वजेट आउनुअघि छलफल नहुनु दुर्भाग्य भएको बताउनुभयो ।राष्ट्रपतिको सम्बोधनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा गरिएको सम्बोधनको प्रति टेबुल गर्नुहुने छ । त्यसपछि नेकपाका प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले धन्यबादको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाको कार्य व्यवस्था महाशाखाको बिहीबार प्रकाशित सम्भावित कार्यसूची अनुसार अर्का सांसदले समर्थन गर्नुहुनेछ ।
प्रतिनिधिसभाको बैठक आजै शुक्रबार ६ बजे र राष्ट्रियसभाको बैठक साढे ५ बजे बोलाइएको छ ।

(यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।)
