२०७७ जेष्ठ ०२ : काठमाडौँ – अत्यावश्यकबाहेकका सरकारी कार्यालयहरु कम्तीमा १५ दिनसम्म बन्द गर्न गृह मन्त्रालयलाई प्रमुख जिल्ला अधिकारीहरुले आग्रह छन् । काठमाडौं उपत्यकाका तीन जिल्लाका सरकारी कार्यालय, ढुवानीलगायतको हकमा जारी गरिएको टाइम कार्ड पनि खारेज गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीहरुले माग गरेका हुन् ।
बिहीबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो सुझाव दिएको हो । प्रमुख जिल्ला अधिकारीहरुको यो सुझाव गृहमन्त्रालयमार्फत उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिमा पठाइएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले बिहीबार नै उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र नगरपालिकाका प्रमुखहरुसँग छलफलसमेत गरेका थिए ।
सो छलफलमा पनि प्रमुख जिल्ला अधिकारीहरुले सोही राय दिएका थिए । राहत वितरणको नाममा पास लिने र राजनीतिक कृयाकलाप गर्ने कामलाई नियन्त्रण गर्नुपर्ने सुझाव पनि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले दिएका छन् । संक्रमित थपिँदै गएपछि सबै सवारी पास रद्द गर्नेलगायतका निर्णयहरु भएका छन् ।

