सुर्खेत । गुर्भाकोट–६ नक्कलेका समीर खत्रीले कृषि व्यवसायलाई रोजगारीको आधार बनाई मनग्य आम्दानी गर्न थालेका छन् । मध्यपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान अध्ययन गरिरहेका खत्रीले दुई वर्ष अघि थालेको कृषि व्यवसाय कृषि अध्ययन गर्न अन्य विद्यार्थीका लागि पनि रहर लाग्दो व्यवसाय बनेको छ । कृषि विज्ञान पढेर पनि रोजगारीको लागि अन्य विभिन्न क्षेत्रमा भौतारिनेहरुका लागि गतिलो उदाहरण बनेका छन् समीर ।
गुर्भाकोटको पुख्र्यौली बारीमा सिम्ताली एग्रोफार्मको नाममा ड्रागन, आँप र लिच्चि रोपेर हरियाली भइरहँदा भेरीगंगा नगरपालिकाको राम घाटमा थालेको बायो ग्रिन एग्रोबाट सिजनल कृषि उत्पादनहरूले मनग्य आम्दानी बढाउन थालेका छन् । उनले आफ्नो फाममा परिवारका पाँच जनासहित १२ जनाले रोजगारी पाएको बताए । व्यवसाय थालेको छोटो अवधिमा पनि भएको आम्दानीले कृषि पेसाप्रति भरोसा बढेको उनको भनाई छ ।
गुर्भाकोटमा फलफूल खेती गरिएको छ । त्यसको उत्पादन हुन केही समय लाग्ने भए पनि राम घाटको फामबाट छोटो समयमा राम्रो कमाइ भएको उनले बताए । ३० रोपनी जग्गा भाडामा लिएर फाम सञ्चालन गरिएका समीरले मौसम अनुसार खेती गरिरहेको बताए । अघिल्लो वर्ष फूल खेती गरेका उनले फूलको सिजन पछि खरबुजा खेती गरे । उनले यो सिजनमा झन्डै पाँच सय क्विन्टल भन्दा बढी खरबुजा उत्पादन भएको बताए ।

अहिले उनको फाममा अहिले तिते करेला, खरबुजा र गोब्रे च्याउ राम्रै उत्पादन भई रहेको छ । पछिल्लो तिन महिनामा ४ सय केजी भन्दा धेरै च्याउ बिक्री गरेको उनले बताए । ‘च्याउ र खरबुजा सँगसँगै उत्पादन भइरहेको छ’ उनले भने, ‘तीन महिनामा पाँच सय क्वीन्टलको हाराहारमा खरबुजा र ४ सय केजीसम्म च्याउ बिक्री भयो ।’ कृषि उत्पादनहरूका लागि बजार अभाव नभएको उनको भनाई छ ।
बर्खामा फूल खेतीबाट पनि मनग्य आम्दानी भएपछि हौसिएका उनले बजारको माग र समयानुसारको उत्पादनमा आफूले जोड दिने बताए । ‘सुर्खेतको राम घाटमा फुलाएका हजारी फूलहरूलाई नेपालमा विभिन्न ठाउँहरूमा पठाउन सके’ उनले सन्तोष व्यक्त गर्दे भने, ‘च्याउ र खरबुजाका लागि सुर्खेत आसपासकै बजार पर्याप्त छ ।’ उनले आफ्नो उत्पादनले नगन्य मात्रामा मात्र बजारको माग अनुसार आपूर्ति गर्न सकेको बताए ।
औसतमा २५ रुपैयाँ केजी खरबुजा बिक्री गरेका समीले गोब्रे च्याउ प्रतिकेजी ५०० मा बेचिरहेको बताए । सुरुमा आफ्नो पढाइको प्रयोगात्मक गर्न सजिलो हुने भन्ने लागेर कृषिमा हौसिएका उनलाई अहिले राम्रो आम्दानी हुन थालेपछि कृषिमा आकर्षण बढेको छ । व्यवसाय बिस्तार गर्न अन्य स्थानहरूमा पनि सम्भाव्यता अध्ययन गरिरहेका समीले युवाहरूलाई सामूहिक रूपमा कृषिमा आकर्षण गर्न सके देशको अर्थतन्त्र बढाउन मद्दत गर्ने विश्वास गर्छन् । खत्रीले व्यवसाय सुरु गरेको छोटो अवधिमा सबै खर्च कटाएर औसतमा मासिक एक लाख २५ हजार आम्दानी भएको उनले बताए ।
आफूले थालेको जग्गामा सिँचाइको सुविधा नभए पनि खरबुजा खेतीका लागि थोपा सिँचाई प्रविधि अपनाएको उनले बताए । व्यवसायलाई बिस्तार गर्दै कर्णालीका विभिन्न जिल्लाहरूमा पु¥याउने लक्ष्य रहेको उनले सुनाए । ‘कृषिमा रुचि भएका युवाहरूलाई समेटेर उत्पादन बढाउने अन्य ठाउँहरूमा पनि बजार बिस्तार गर्ने योजना बनाएका छौ’ उनले भने, ‘हाम्रो देशलाई कृषि प्रधान भनिएजस्तै उत्पादन प्रधान बनाउन पनि जरुरी छ ।’ उनले आफ्नो फामबाट केही समयमा ड्रागन, लिची र आँपले उत्पादन दिने तरकारीको बिउ उत्पादन र फूल खतीलाई प्राथमिकतामा राखिएको बताए ।
नेपाललाई कृषि प्रधान देश भने पनि त्यस अनुसारको योजना, पूर्वाधारको विकास र कृषकहरूलाई राज्यको सहयोग जरुरी भएको समीर बताउँछन् । कृषि सम्भाव्य क्षेत्र हो भने यसका लागि सरकारसँग ठुलो योजना बनाउनु पर्ने उनको तर्क छ । समयमा बिउ बिजन, भारतीय उत्पादनसङको बढ्दो प्रतिस्पर्धा तथा छोटो समयमै धेरै नाफा कमाउने मनसायले कृषिमा युवाहरू टिक्न नसकेको उनको भनाई छ । किसानले सधैँ सिँचाइ, बिउ विजन र प्राविधिक सहयोगको समस्या भोग्दै आएको उनको अनुभव छ ।
उनले उत्पादन भएको सामानको मूल्य निर्धारण नहुँदा किसान सधैँ मारमा पर्ने गरेको बताए । प्रविधिको अभाव, गुणस्तरीय बिउ बिजनको अभाव, सिँचाइ, मलको अभाव, मूल्य निर्धारण नहुनुजस्ता समस्याले किसान मर्कामा परेको बताए । रोजगारीका खोजीमा लाखौँ खर्चेर बिदेशिएका युवाहरूका लागि थोरै लगानीले स्वदेशमै मेहनत गर्न सके मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण बनेका छन् समीर ।
