नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ : डा.बालकृष्ण जोशी

Headlines विचार /दृष्टिकोण

विदेशी बिउको अनियन्त्रित प्रयोगले रोग, कीरा तथा झारका नयाँ प्रजाति भित्रिएका छन्’
डा.बालकृष्ण जोशी, वरिष्ठ वैज्ञानिक

काठमाडौं । हरेक वर्ष मे २२ मा विश्वभर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइन्छ । जैविक विविधताको महत्त्वलाई उजागर गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी शिखर सम्मेलनले जैविक विविधता महासन्धी अगाडि बढाउने निर्णय गरेपछि सन् १९९४ देखि मे २२ मा यो दिवस मनाउन थालिएको हो ।

सामान्य अर्थमा कृषि महत्वका जीवजन्तु तथा वनस्पतिजन्य विविधतालाई कृषि जैविक विविधता भनिन्छ । यस्तो विविधता आनुवंशिक, प्रजातीय र पारिस्थितिक तहमा फैलिएको हुन्छ । कृषि बाली, घाँसेबाली, पशुपन्छी, जलचर, कृषि महत्वका कीरा तथा सूक्ष्म जीव गरी कृषि जैविक विविधताका छ प्रमुख आयाम रहेका छन् ।

नेपालको सन्दर्भमा कृषि जैविक विविधताको संरक्षण र यसको चुनौतीबारे चर्चा गर्दै राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख एवं वरिष्ठ वैज्ञानिक डा.बालकृष्ण जोशीले पछिल्लो समय नेपालमा कृषि जैविक विविधता संरक्षणको अभियानले गति लिएको बताए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा वरिष्ठ वैज्ञानिक डा.जोशीले विगत ७० वर्षको कृषि अनुसन्धानको तथ्याङ्क हेर्दा नेपालका ५० देखि १०० प्रतिशतसम्म रैथाने बाली तथा प्रजातिहरू लोप भइसकेको बताए । नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको उनले बताए ।

वैज्ञानिक डा.जोशीले भने, ‘नेपालको कृषि पछिल्लो ७० वर्षदेखि उल्टो बाटोमा हिँडिरहेको छ ।’ उनका अनुसार विगत सात दशकको कृषि अनुसन्धान र नीतिले रैथाने बालीलाई विस्थापित गरी विदेशी बिउमाथिको परनिर्भरतालाई संस्थागत गरेको छ ।
उनका अनुसार तथ्याङ्कले डरलाग्दो तस्बिर देखाउँछः नेपालका ५० देखि १०० प्रतिशतसम्म रैथाने बालीहरू लोप भइसकेका छन्। नेपाली भान्सा र किसानका खेतबारीमा ९५ प्रतिशतसम्म परनिर्भरता देखिएको छ । सन् १९८० को दशकमा तराईमा ‘मन्सुली’ धानको प्रवेशसँगै रैथाने धानको विस्थापन सुरु भएको थियो। आज तीन हजारभन्दा बढी रैथाने धानका जातहरू अभिलेखमा रहेपनि तीमध्ये धेरैजसो व्यवहारमा देखिन छाडेका छन्।

जोशीले भने, ‘हामीले करिब १५ वर्ष अगाडिबाट कृषि जैविक विविधता नेपालको सबैभन्दा बढी संकटमा परेको क्षेत्र रहेको महसुस गर्यौं । सन् २०१० मा राष्ट्रिय जिन बैंकको स्थापनापछि अहिले कृषि जैविक विविधताको करिब ५० देखि ६० प्रतिशत हिस्सा जोगाउन सफल भएका छौं।’
नेपालमा रैथाने जातहरू विस्थापित हुनुको मुख्य कारण विदेशी जातहरूको अत्यधिक प्रयोग र त्यसलाई दिइएको प्रोत्साहन हो । जापान, अमेरिका, भारत र युरोपेली मुलुकहरूबाट भित्रिएका बिउहरूले यहाँका स्थानीय जातहरूलाई पूर्णतः विस्थापन गरिदिएको छ ।
डा.जोशीका अनुसार, कृषि जैविकताभित्र बाली मात्र नभई ६ वटा मुख्य अङ्गहरू (बाली, घाँसे बाली, पशुपन्छी, जलचर, कृषि महत्वका कीरा र सूक्ष्म जीव) तथा परम्परागत ज्ञान पर्दछन्। तर, अहिले पनि अधिकांश शिक्षित वर्गमा ‘रैथानेले उत्पादन पुग्दैन’ भन्ने गलत मानसिकता रहेको उनको जिकिर छ । यसका अतिरिक्त रासायनिक मलको प्रयोगले माटोमा रहेका सूक्ष्म जीवाणुहरूलाई मार्ने र माटोलाई मृत बनाउने काम गरिरहेको उनले चेतावनी दिए ।

‘नेपालको माइक्रोब्स हेर्ने हो भने माटोमा डेड छ । डेड बनाउनुको मुख्य उद्देश्य रासायनिक मल हो । रासायनिक मलले माटोको सूक्ष्म–जीवाणुलाई १०० प्रतिशत नै मार्छ,’ उनले भने, ‘हामीले रासायनिक मल हालेर माटोलाई मसानघाट बनायौँ, अनि त्यही मृत माटोमा कृत्रिम नियन्त्रणमार्फत खेती गरिरहेका छौँ, जुन दिगो छैन,’ डा.जोशीको तर्क छ ।

उनका अनुसार पछिल्लो समय अनुसन्धान, शिक्षा, किसानको माग र बजारमा समेत रैथाने उत्पादनप्रति आकर्षण बढ्दो छ । ‘आफ्नोपनलाई ग्लोबलाइज गर्नुपर्छ भन्ने चेतना बढेको छ । जुम्लाको उत्पादनले विश्व बजार ढाक्नुपर्छ भन्ने हाम्रो अवधारणा हो,’ उनले भने।्
डा.जोशीले कृषि जैविक विविधता भनेको केवल रैथाने बाली मात्र नभई कृषि–किरा, सूक्ष्म जीवाणु, पशुपन्छी, जलीय आनुवंशिक स्रोत, घाँसेबाली र परम्परागत ज्ञानसमेत भएको स्पष्ट पारे । तर नीति तथा व्यवहारमा अझै पनि यसबारे पर्याप्त बुझाइ नबढेको उनको भनाइ छ ।
उनका अनुसार रासायनिक मल, विषादी, विदेशी बिउ, एकल बाली प्रणाली (मोनोकल्चर), जलवायु परिवर्तन, बसाइँसराइ र बजारमुखी नीतिका कारण रैथाने बाली तथा स्थानीय आनुवंशिक स्रोत विस्थापित भएका छन्।

‘१९८० को दशकमा तराईमा ‘मन्सुली’ धान आएपछि ८० प्रतिशत रैथाने धान हरायो,’ उनले भने, ‘नेपालमा तीन हजारभन्दा बढी रैथाने धान अभिलेखमा छन्, तर धेरैजसो हराइसके।’उनले विदेशी बिउको अनियन्त्रित प्रयोगले सूक्ष्म जीवाणु, रोग, कीरा तथा झारका नयाँ प्रजातिसमेत नेपाल भित्रिएको बताए । कमजोर क्वारेन्टाइन प्रणालीले थप चुनौती सिर्जना गरेको उनको भनाइ छ ।

डा.जोशीका अनुसार राष्ट्रिय जिन बैंकले हालसम्म देशभरिबाट १५–१६ हजारभन्दा बढी बिउ तथा आनुवंशिक स्रोत संकलन गरिसकेको छ । माइनस २० डिग्री तापक्रममा राखिने दीर्घकालीन भण्डारण कक्षमा बिउ १०० वर्षसम्म सुरक्षित राख्न सकिने उनले बताए।
उनले नेपालभर १०१ असल अभ्यासमार्फत रैथाने बाली, कृषि–किरा, पशुपन्छी, सूक्ष्म जीवाणु तथा परम्परागत ज्ञान संरक्षणको अभियान संचालन गरिएको जानकारी दिए । साथै कम्युनिटी सीड बैंक, कम्युनिटी जिन बैंक, फिल्ड जिन बैंक तथा रैथाने हाट बजारजस्ता अवधारणाले संरक्षणलाई बल पुर्याएको बताए।

उनले किसानलाई आफ्नै ठाउँमा विकसित भएका स्थानीय बिउ प्रयोग गर्न आग्रह गरे। ‘घरको कुकुर बलियो भनेझैँ, जहाँ विकास भएको हो त्यहीँको बिउ सबैभन्दा अनुकूल हुन्छ,’ उनले भने। उनका अनुसार नेपाल सरकारले हाल रैथाने बाली र एग्रो–इकोलोजीलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिन थालेको छ । राष्ट्रिय एग्रो–इकोलोजी रोडम्याप कार्यान्वयन भए नेपाल कृषि जैविक विविधता संरक्षणमा विश्वकै अग्रणी बन्न सक्ने उनको विश्वास छ ।

उनले ‘लोकललाई ग्लोबलाइज’ गर्ने अवधारणालाई राज्य, अनुसन्धानकर्ता, किसान र उपभोक्ताले सामूहिक रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । ‘जुम्लाको मार्सी धान विश्वभर पुग्नुपर्नेमा हामी किन एभोकाडो र विदेशी जातको पछि लाग्दैछौँ ?’ वैज्ञानिक डा.जोशीले प्रश्न गरे ।

उनका अनुसार, हाम्रो शिक्षा र अनुसन्धान प्रणालीले रैथाने ज्ञानलाई मान्यता दिएको छैन । विद्यालयका पाठ्यपुस्तकमा स्थानीय उत्पादनको सट्टा विदेशी बाली पढाउने प्रवृत्तिले नयाँ पुस्तामा रैथानेले केही गर्न सक्दैन भन्ने हीनताबोध पैदा गरेको छ। ‘रैथानेले पुग्दैन भन्ने सोच हटाउनुपर्छ,’ उनले भने, ‘रैथाने उत्पादनलाई सही रूपमा उपयोग र बजार व्यवस्थापन गर्न सके नेपाल आत्मनिर्भर मात्र होइन, विश्व बजारमा पनि स्थापित हुन सक्छ ।’