काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच इरानसँग सम्बन्धित कूटनीतिक प्रयासलाई लिएर कठिन फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम एक्सीओसले जनाएको छ ।
रिपोर्टअनुसार, उक्त वार्तामा अमेरिका र इरानबीच परमाणु कार्यक्रम तथा क्षेत्रीय मुद्दामा सहमति खोज्ने नयाँ कूटनीतिक पहलबारे छलफल भएको थियो । यस पहलमा कतार, पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टलगायत देशहरू मध्यस्थकर्ताका रूपमा संलग्न रहेका छन् । वार्तापछि प्रधानमन्त्री नेतन्याहू निकै असन्तुष्ट भएको र उनी अत्यन्त आक्रोशित भएको स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा उल्लेख गरिएको छ ।
अमेरिका र इरानबीचको प्रस्तावित सम्झौताको नयाँ मस्यौदा हाल छलफलमा रहेको पनि जनाइएको छ, जसले इरानको परमाणु कार्यक्रमबारे स्पष्ट प्रतिबद्धता र रोक्का गरिएको सम्पत्तिबारे शर्तहरू समेट्ने अपेक्षा गरिएको छ ।
राष्ट्रपति ट्रम्पले भने कूटनीतिक समाधानको सम्भावनाप्रति खुला रहेको तर आवश्यक परे सैन्य विकल्प पनि कायम रहेको संकेत दिएका छन् । उनले स्थिति सम्झौता र द्वन्द्वको बीचमा रहेको टिप्पणी गरेका छन् ।

इरानले संशोधित प्रस्ताव अध्ययन गरिरहेको जनाएको छ, तर आफ्नो अडानमा ठूलो परिवर्तन संकेत गरेको छैन । यसैबीच, इजरायलले वार्ताप्रति चिन्ता व्यक्त गर्दै कडा अडान अपनाउनुपर्ने पक्षमा जोड दिएको बताइएको छ । रिपोर्ट अनुसार, दुबै नेताबीच इरान नीतिलाई लिएर दृष्टिकोणमा स्पष्ट मतभेद देखिएको छ । हालसम्म ह्वाइट हाउस र इजरायली प्रधानमन्त्री कार्यालयले यस विषयमा आधिकारिक प्रतिक्रिया दिएका छैनन् । एएनआई
