काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाका सांसद जगदीश खरेलले प्रतिनिधिसभाको शून्य समयमा उठाइएका विषयहरू कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले सदनमा उठाएका कुराहरू क्यामेरामा रेकर्ड गर्न मात्र हो कि कार्यान्वयनमा पनि आउँछन् भन्दै सरकारलाई प्रश्न गरेका हुन्।
उनले गत अधिवेशनमा आफूले उठाएका जनसरोकारका विषयमा अहिलेसम्म कुनै सुनुवाइ नभएको गुनासो गरे।

उनले भने,‘मैंले गत सदनमा पनि कुरा उठाएको थिएँ, बर्खा लाग्न लागिसक्यो तर अहिलेसम्म कुनै सुनुवाइ भएको छैन । आजसम्म शून्य समयमा उठेका कुराहरू क्यामेराले खिचेर रेकर्ड गर्न मात्र हो कि कार्यान्वयनमा ल्याउन पनि हो? त्यही क्यामेरामा रेकर्ड गराउन मात्र हो भने यो शून्य समय बन्द गरियोस्।’
शून्य समयको उठाइएका विषय कार्यान्वयन र नियमन गर्न शक्तिशाली आयोग वा समिति गठन गर्नुपर्ने प्रस्ताव राखे । उनले भने, ‘होइन भने शून्य समयमा उठाएका विषयमा शक्तिशाली आयोग र समिति गठन गरेर नियमनमा गइयोस्।’
सदनमा सांसदहरूले बोलेका कुराहरूको सुनुवाइ नहुँदा सांसस मैन हुनुपर्ने अवस्था आएको भन्दै उनले रास्वपाकै सांसद हरि ढकालले अघिल्लो सदनमा आफ्ना कुराहरूको सुनुवाइ नभएको भन्दै शून्य समयमा मौनधारण गरेको प्रसंग स्मरण गराए ।
उनले चेतावनी दिँदै भने,‘अघिल्लो सदनमा सांसद हरि ढकालले मौनधारण गरेको देखेका छौँ, अब फेरि त्यो दिन नआओस् ।’
