काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारणसभा अन्तर्गत आज (मंगलबार) नयाँ कार्यसमिति चयनका लागि निर्वाचन हुँदैछ ।
मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार ७३ पदका लागि १३७ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । निर्वाचन बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ ।
निर्वाचनमा २ हजारभन्दा बढी मतदाताले मतदान गर्नेछन् । मत परिणाम भने बुधबार सार्वजनिक गर्ने तयारी रहेको छ ।

महासंघ विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् भने बाँकी पदाधिकारी तथा सदस्यका लागि निर्वाचन हुन लागेको हो । चार उपाध्यक्षसहित अन्य सदस्य पदमा प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन संरचनाअनुसार जिल्ला–नगरतर्फ दुई, वस्तुगततर्फ एक र एसोसिएटतर्फ एक उपाध्यक्ष चयन गरिनेछ । त्यसबाहेक विभिन्न समूहबाट कार्यसमिति सदस्य चयन हुनेछन् ।
मतदाता संरचनाअनुसार एसोसिएटतर्फ करिब १ हजार ८ सय ५०, जिल्ला–नगरतर्फ १२९, वस्तुगत संघतर्फ १०७, वस्तुगत महासंघतर्फ १७, द्विराष्ट्रिय समूहबाट ८ तथा संस्थापकतर्फ १२ जना मतदाता रहेका छन् ।
