विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रियालाई तीव्र बनाएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिंथेपले बजेट तयारी भइरहेको जानकारी दिँदै यस पटक योजनाबद्ध र परिणाममुखी बजेट ल्याउने तयारी भइरहेको बताएका छन् ।
नेपाल न्यूज बैकसँगको कुराकानीमा मन्त्री लिंथेपले बजेट निर्माणका क्रममा विज्ञहरूसँग निरन्तर छलफल भइरहेको उल्लेख गरे । उनका अनुसार प्रदेशको समग्र आर्थिक अवस्था, विकासका प्राथमिकता र दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर बजेटको ढाँचा तयार पारिँदै छ ।
यस पटकको बजेटमा ‘आयोजना बैंक’मा समावेश भएका योजनाहरूलाई मात्र प्राथमिकता दिने स्पष्ट नीति लिइएको मन्त्री लिंथेपले बताए । विगतमा जथाभाबी योजना समावेश गर्दा कार्यान्वयनमा समस्या आएको अनुभवका आधारमा यो निर्णय गरिएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक हुन नसकेको स्वीकार गर्दै मन्त्री लिंथेपले ‘जेनजी आन्दोलन’ लगायत विभिन्न कारणले विकास आयोजनामा असर परेको बताए ।
प्रदेश सरकार आगामी बजेटमार्फत आर्थिक अनुशासन कायम गर्दै विकासको गति तीव्र बनाउने लक्ष्यमा केन्द्रित देखिएको छ । योजनाको छनोटदेखि कार्यान्वयनसम्म स्पष्ट मापदण्ड अपनाउने तयारीले यस पटकको बजेट विगतभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
खेमराज सापकोटा, नेपाल न्यूज बैक
