काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगन थापाले संदनमा कवितामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गरेका छन् ।
सोमवार बसेको प्रतिनिधि सभाको बैठकमा ‘म त भाग्यमानी’ शीर्षकको उनले बालकविता पढ्दै प्रधानमन्त्री र सरकारमाथि व्यंग्य कसेका हुन् । प्रधानमन्त्रीले केही दिन अघि ‘म त भाग्यमानी’ शीर्षकमा गीत लेखेका थिए । सोही शिर्षकको कवितामार्फत् थापाले सरकारको आलोचना गरेका छन् ।
कविता प्रस्तुत गर्दै सरकारलाई भारतले नेपाली भूमिमा सडक बनाएको कुरा गम्भीर विषय भएकाले कोरोना महामारी देखाएर सरकार पन्छिन नमिल्ने बताउनु भएको छ ।

गगन थापाको पुरा कविता :
छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपुलेकलाई डोजरले रेटिएको
यस्तो सबल सरकार छ,सीमा कसले मिच्ने
कोही छैनन् जोरी खोज्ने,छैनन् कोही हेप्ने
सयौं कोश हिंड्दा पनि श्रमिक छैनन् आहत
गरीबलाई समान छ,सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्
दुख पीडा सुनाउने ती नेपाली नै होइनन्
जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक साना व्यापारीको साह्रै मर्म बुझ्ने
भ्रष्टाचारलाई नसहने सरकारको छ नीति
हावादारी हल्ला हुन्,ओम्नी र यती
सबैतिर वाह वाह,यस्तो विकास देख्दा
पत्रकार नै दंग छन्,यो समाचार लेख्दा
कोमल हृदयका प्रधानमन्त्री आशुकवि हाम्रा
दिन नबिराई सिर्जना छ,आहा कति राम्रा
राहत खोज्दै आउनेलाई, तिनै गीत दिउँला
गीत कविता भट्याउँदै कालापानी जाउँला
सारा नेपाल हाँसेको छ,मेची काली गाउँछ
आशु आए बरू त्यही गीतले आउँछ
यस्तो नायक गजबका,ल्यायौं जानी जानी
अहो हामी नेपाली त साह्रै भाग्यमानी, अहो साह्रै भाग्यमानी
म त साह्रै भाग्यमानी !!

