काठमाडौं । सानिमा बैंक ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र प्रतिशेयर आम्दानी (EPS) दुवैमा उल्लेख्य सुधार भएको जनाएको छ।
सार्वजनिक विवरणअनुसार बैंकले चालु आवको पहिलो ९ महिनामा १ अर्ब ३५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.२२ प्रतिशतले बढी हो।
बैंकका अनुसार खुद ब्याज आम्दानीमा भएको वृद्धि र इम्पेयरमेन्ट चार्जमा आएको कमीका कारण नाफा उल्लेख्य रूपमा बढेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.४८ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.०५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, खुद सञ्चालन आम्दानी २०.४१ प्रतिशतले बढ्दा सञ्चालन मुनाफा ४७.५० प्रतिशतले उकालो लागेको छ। इम्पेरमेन्ट चार्ज भने १ अर्ब ४० करोड ४३ लाख रुपैयाँबाट घटेर १ अर्ब ३६ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ। समीक्षा अवधिमा EPS ६ रुपैयाँ ७४ पैसाले बढेर २३ रुपैयाँ ७ पैसा पुगेको छ। यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ ५५ पैसा कायम रहेको छ भने मूल्य–आम्दानी अनुपात १५.२७ गुणा रहेको छ।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २१ रुपैयाँ २ पैसा रहेको छ। १५ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८० करोड रुपैयाँ सञ्चित रहेको छ।
यस अवधिसम्म बैंकले २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।
