काठमाडौं । आज वैशाख कृष्ण औँसीका दिन जन्मदाता आमाप्रति श्रद्धा र भक्ति प्रकट गर्दै ‘आमाको मुख हेर्ने पर्व’ देशभर श्रद्धापूर्वक मनाइँदैछ। यो अवसरमा आमालाई मीठामीठा खानेकुरा खान दिई, राम्रा लुगा लगाइदिई सम्मान गरिन्छ।
शास्त्रअनुसार उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि आमाको स्थान उच्च मानिन्छ। यही परम्पराअनुसार सन्तानहरूले बिहानै नुहाई आमालाई सम्मान गरी आशीर्वाद लिने चलन रहिआएको छ। आमा दिवङ्गत भएका सन्तानहरूले भने आज तर्पण, पिण्डदान र सिदादान गरी दिवङ्गत आमाको सम्झना र श्रद्धाञ्जली अर्पण गर्छन्।
वैदिक सनातन धर्मग्रन्थहरूमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनिएको छ, अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि श्रेष्ठ छन्। धर्मशास्त्रविद् तथा नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, आमाले नौ महिना गर्भमा धारण गरी सन्तानलाई जीवन दिने भएकाले उनको स्थान विशिष्ट छ। शास्त्रीय मान्यतामा बाबुभन्दा आमाको महत्व हजार गुणा बढी बताइएको छ।

आमालाई जीवितो अवस्थामा मीठो खान दिने र राम्रो लुगा लगाइदिएर खुसी बनाउने परम्परा छ भने दिवङ्गत आमालाई तर्पण, पिण्डदान र सिदादान गर्दै श्रद्धापूर्वक सम्झिन्छ। वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने विश्वास गरिन्छ, त्यसैले आजको श्राद्ध विशेष महत्वपूर्ण मानिन्छ।
यस अवसरमा चन्द्रागिरि नगरपालिका क्षेत्रको मातातीर्थमा विशेष मेला लाग्ने परम्परा छ।
