लैङ्गिक दृष्टिकोणबाट भूराजनीति पुनर्व्याख्या गर्न आवश्यक : विद्या भट्टराई

समाचार

काठमाडौं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भूराजनीतिलाई लैङ्गिक दृष्टिकोणबाट पुनः व्याख्या गर्न आवश्यक रहेको बताएकी छन् ।

काठमाडौंमा आयोजित ‘लैङ्गिक दृष्टिकोणबाट भूराजनीतिको पुनःपरिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भूगोल र राजनीति बीचको सम्बन्ध स्थिर नभई समयअनुसार परिवर्तनशील हुने धारणा व्यक्त गरिन् ।

उनले भनिन्, ‘भूगोलले राजनीतिलाई कसरी प्रभाव पार्छ भन्ने विषयलाई एउटै परिभाषाभित्र सीमित गर्न सकिँदैन । समाज र राज्यमा आउने परिवर्तनका विभिन्न आयामले यसको स्वरूप पनि बदल्दै लैजान्छ ।’

भट्टराईले राजनीतिलाई परम्परागत रूपमा कठोरता, शक्ति र पराक्रमसँग जोडेर हेर्ने प्रवृत्तिमा पुनर्विचार गर्नुपर्ने बताइन् । उनले लैङ्गिक दृष्टिकोणले भूराजनीतिलाई फरक ढंगले बुझ्ने अवसर प्रदान गरेको बताइन् ।

त्यस्तै, उनले विश्वभर हुने द्वन्द्व र युद्धका निर्णयहरू प्रायः शक्ति संरचनाबाट निर्देशित हुने उल्लेख गर्दै राज्य सुरक्षा प्रणालीलाई त्यस्ता संरचनाको केन्द्रमा राखिने गरेको बताइन् ।

उनले भनिन्, ‘राजनीतिलाई हेर्ने दृष्टिकोण फरक फरक छ । लैङ्गिक आयामबाट हाम्रो भूराजनीतिलाई कसरी हेर्छौं भन्ने कुरा हो । यसमा सबै हामीले राजनीतिलाई आजसम्मको बुझाइलाई त्यहाँ भित्रको पराक्रमको कुरा, एकदम कडा र कठोर हुनुपर्ने, कठोर हुँदा मात्रै बहादुरी सम्झिनुपर्ने जुन मान्यता छ, त्यो मान्यताभन्दा फरक ढंगले हेर्नुपर्छ ।’