काठमाडौं । सरकारले २०६२ सालयता उच्चपदस्थ कर्मचारी तथा राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न ‘सम्पत्ति जाँचबुझ आयोग’ गठन गरेको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले उक्त जानकारी दिएका हुन् ।
आयोगमा संयोजक भण्डारीसहित पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, चण्डिराज ढकाल, पूर्वप्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन् ।

मन्त्री पोखरेलका अनुसार आयोगको यो चरण पूरा भएपछि विसं २०४६ सालदेखि नै सम्पत्ति छानबिन गर्ने लक्ष्य राखिएको छ ।
आयोगको कार्यविधि र समयावधिबारे थप विवरण छिट्टै सार्वजनिक गरिने उनले बताए ।
यसअघि गत वर्ष चैत १३ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको सरकारका ‘सय दिनका कार्यसूची’भित्र १५ दिनभित्र यस्तो आयोग गठन गर्ने प्रतिबद्धता राखिएको थियो । सोही निर्णयअनुसार आयोग गठन गरिएको हो ।
