ठूलो परिमाणमा लागूऔषधसहित तीन युवा पक्राउ

विविध

इनरुवा, वैशाख २८ गते । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषधसहित धरान र भोक्रहाका तीन युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको भोक्रहानरसिंहबाट प्रहरीले शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले धरानका दुईसहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपलिका ३ का राजकुमार मण्डल, धरानका ८ का २७ वर्षीय अजय श्रेष्ठ र अर्जुन कार्की रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मण्डल विक्रेता र धरानका दुई युवा भने खरिदकर्ता हुन् ।

मण्डलको साथबाट ३८४० क्याप्सुल ट्रोमाडोल र चार बोतल डाईलक्स डिसी वरामद गरेको छ । १६ हजार सात सय रुपियाँ नगद र एकथान मोबाइल पनि वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मण्डलको साथबाट प्रदेश १–०२–०४० प ५३२७ नम्बरको मोटरसाईकल बरामद भएको छ । धरानका अजय र अर्जुनको साथबाट ५७ हजार ५१० रुपैयाँ नगद र दुई थान माबवाइल पनि वरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरु लागूऔषध खरीद गर्न को २२ प ७३५३ नम्बरको मोटरसाईकल लिएर पुगेका थिए ।आईतबार जिल्ला अदालतमा म्याद थप गरी कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।