काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र उनका व्यावसायिक साझेदार सुलभ अग्रवालको निवास तथा कार्यालयमा मंगलबार बिहान छापा मारेको छ । प्रहरी र स्थानीय निकायको सहयोगमा विभागको टोलीले उनीहरूको सम्पत्ति र व्यावसायिक कारोबारमाथि छानबिन गर्न यो कदम चालेको हो ।
विभागको टोलीले ललितपुरको सानेपास्थित भट्टको निवास किरणभवन र कार्यालयमा छापा मारी दुवै ठाउँ सिल गरेको छ । लामो समयदेखिको अनुसन्धानपछि प्रक्रिया टुङ्ग्याउन विभागले भट्टको निवासबाट करिब १० वटा विलासी सवारी साधनहरू नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका गाडीहरूमा रेञ्जरोभर, टोयोटा ल्याण्डक्रुजर, बीएमडब्लु, टेस्ला, प्रोटन र बीवाइडी लगायतका रहेका छन् । यसका साथै, त्यहाँबाट मोबाइल फोन, कम्प्युटर, महत्वपूर्ण कागजात र सीसीटीभी सर्भर समेत जफत गरिएको विभागले जनाएको छ ।
भट्ट र अग्रवालको साझेदारी रहेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा समेत विभागले छापा मारेको छ । त्यहाँबाट अनुसन्धानका लागि आवश्यक डिजिटल सामग्री र कागजातहरू नियन्त्रणमा लिइएको छ । त्यसैगरी, अग्रवालसँग सम्बन्धित कार्यालयहरूबाट ल्यापटप र सीसीटीभी फुटेज बरामद गरिएको छ भने भट्टका वित्तीय व्यवस्थापक भनिएका उपेन्द्र हिरावतको घरमा पनि छानबिन गरिएको स्रोतले जनाएको छ ।

विभागले अग्रवाल र भट्टको सम्पत्ति व्यवस्थापनका विषयमा गम्भीर आशंका व्यक्त गरेको छ । विभागका एक उच्च अधिकारीका अनुसार, नेपालभित्रका आर्थिक स्रोतहरू अग्रवालको नाममा र विदेश (सिंगापुर, हङकङ, दुबई आदि) मा रहेका स्रोतहरू भट्टको नाममा परिचालन भएको हुनसक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ । जफत गरिएका सामग्रीहरूको विश्लेषणपछि थप तथ्यहरू खुल्ने विभागको भनाइ छ ।
भट्ट र अग्रवाल विगत दुई सातादेखि प्रहरी हिरासतमा छन् । उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बीमा र बैंकिङ कसुरसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको छ । काठमाडौं जिल्ला अदालतले भट्टलाई दुई पटक गरी २० दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ भने अग्रवाललाई पनि थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति प्राप्त भएको छ ।
