काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आज सुरु हुँदैछ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ः०० बजे संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा बस्ने गरी आह्वान गरेका छन् ।
आजकाे बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन् ।

बैठकमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ ।
यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।
सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको मनोनयन गर्नुपर्ने नियमावलीको व्यवस्था रहेको छ । सोहीअनुसार केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूलाई मनोनयन गर्नेछन् ।
आजको बैठकमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
बैठकमा तीन अध्यादेश पेस हुँदै छन् । बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
